पाँच करोड बढी ठगी गर्ने अस्पतालका संचालक पक्राउ

वीरगन्ज,
विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जमा संचालनमा रहेको एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका संचालक २८ वर्षीय सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दावी प्रहरीले गरेको छ ।

बाराको कलैया नगरपालिका १३ घर भइ वीरगन्ज महानगरपालिका २ बस्ने सर्राफले वीरगन्जको छपकैयामा एसिया मेडिकेयर हस्पिटल सञ्चालन गर्दै आएका थिए । पर्सागढी नगरपालिका ६ बस्ने राकेशकुमार यादवसमेतको जाहेरीका आधारमा सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीविरुद्ध बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुरजले अस्पतालका लागि विभिन्न पार्टी तथा एजेन्सीसँग लिएको सर्जिकलका मेशिन, अस्पतालका सामान तथा ल्याबका अन्य मेशिनको भुक्तानीसमेत नदिएको गुनासो आइरहेको प्रहरी अधिकारीहरु बताउँछन् । त्यसैगरि गाडी सोरुम, सुनचाँदी पसल बैंक तथा वित्तिय संस्थाका मानिसको जाहेरी प्रहरीमा परेको छ । एनआईसी एसिया बैंकबाट मात्रै उनले २ करोड ३० लाख ऋण लिएर नतिरेको तथ्य बाहिर आएको छ । त्यसैगरि प्रहरीले वीरगन्ज महानगरपालिका १० बस्ने नितेश सर्राफलाई पनि पक्राउ गरेको छ ।
नेपाल समाचारपत्रबाट

पाँच करोड बढी ठगी गर्ने अस्पतालका संचालक पक्राउ