स्थानीय निर्वाचनमा महिला जनप्रतिनिधि वृद्धि

स्थानीय निर्वाचनमा महिला जनप्रतिनिधि वृद्धि


२०७४ सालभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा महिला जनप्रतिनिधिको संख्यामा वृद्धि भएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्लाका सात गाउँपालिका र ४४ वडामा  ८४ जना महिला निर्वाचित भयकोमा  २०७९ सालको स्थानीय निर्वाचनमा  जिल्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।

महिला जनप्रतिनिधिहरू उपाध्यक्ष २ जना, वडा अध्यक्ष १ जना,  दलित महिला सदस्य ३६ जना,  महिला सदस्य ४४ जना र १३ जना खुला सदस्य गरी जम्मा  ९६ महिला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे हो ।

निर्वाचित महिला सदस्यहरु मध्ये ८० जना  महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका छन् । यस्तै, १३ जना  दुई खुला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए । नाम्खामा ६ जना आरक्षण कोटा र एक जना खुल्ला सदस्यमा  निर्वाचित भए पनि दलित महिला सदस्यको हकमा शून्य देखिएकाे छ ।

सिमकोटमा ८ जना आरक्षण महिला सदस्य,  ८ जना आरक्षण दलित महिला सदस्य र ८ जना खुल्ला सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन  कार्यालयको स्रोतले जानकारी दिएको छ । हुम्लाको मध्य भेगमा रहेको  खार्पुनाथ गाउँपालिकामा वडा नं ४ मा वडाध्यक्ष सर्वसहमतिमा निर्वाचित भएकी छिन भने ५ जना आरक्षण महिला सदस्य, ५ जना आरक्षण दलित महिला सदस्य, एक जना खुल्लामा निर्वाचित भएका छन् ।

जिल्लाकै तल्लाे भेगका पालिकाहरु सर्केगाडमा ८ जना आरक्षण महिला सदस्य,  ८ जना आरक्षण दलित महिला सदस्य र दुुई जना खुल्ला सदस्यमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयमा सूचना अधिकृत श्याम बहादुर रानाले बताएका छन् ।

यसैगरी जिल्लाको चङ्खेलीमा १० जना आरक्षण र एक जना खुल्ला, अदानचुलीमा १२ जना आरक्षण र ताँजाकोट गाउँपालिकामा दश जना आरक्षण कोटाबाट मात्र निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा महिलाका लागि आरक्षणको कोटा नभएको भए यो संख्या अझै कम हुने हुम्लाकी महिला अधिकारकर्मी गंगा बोहोराले बताइन्  ।

विगतमा भन्दा अहिले निर्वाचित हुने महिलाको संख्या बढे पनि दलहरूले महिलाहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र खुल्ला सदस्यमा खासै स्थान दिन नसकेको पाइएको छ ।

Logo