यार्सा संकलनका लागि कठिन दौड

डोल्पा,

यार्सागुम्बा टिप्नेको पाटनमा दौड नै हुने गर्दछ । डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि पाटन पुगेका स्थानीय यार्सा टिप्न दौडिने गर्छन् ।

ज्यानको बाजी नै राखेर समुन्द्र सतह भन्दा करिब ४२ सय मिटरको उचाइमा यार्सागुम्बा टिप्नका लागि को पहिला पुग्ने भन्दै दौड हुनेगर्छ । जेठ २४ गते खुला गरिएको ठुलीभेरी नगरपालिका ६ अन्तरगत पर्ने पाटनमा यार्सा संकलक निकै तछाड मछाड गर्दै दौडिरहेका थिए । यस्तो यार्साको दौड हरेक वर्ष हुने गर्दछ ।

महिला, बालबालिका, वृद्धसँगै फरक क्षमता भएका व्यक्ति र बच्चाका आमाले एकै साथ समान रुपमा यार्सागुम्बा टिप्न पाउन भन्ने उद्देश्यले सबैलाई एकै पटक यार्सापाटनमै लगेर छोड्ने छोड्ने गरिन्छ । यसरी छोड्दा तन्नेरी तरुनी दौडिने र पहिला नै यार्सा संकलनस्थल पुग्ने गर्छन् ।

जो पहिला गयो उसले थुनेर राखेको यार्सागुम्बा धेरै पाउने गर्छन् । यार्सा धेरै पाउने लोभमा लेक लाग्ने कुनै हेक्का नै नगरी यार्सा पाटनमा पुग्ने दौडको प्रतिस्पर्धा नै हुन्छ । डोल्पा, जाजरकोट, रुकुम, जुम्ला लगायत आधा दर्जन जिल्लाबाट मानिसहरु यार्सागुम्बा टिप्नकै लागि डोल्पाका पाटनमा पुगेर दौडमा बाजी लगाउने गरेका छन् ।

सबैलाई एकै ठाँउमा जम्मा गरेर सिट्ठी बजाएपछि दौड सुरु हुन्छ । सिट्ठी फुकेपछि शक्ति हुने पहिला गएर धेरै यार्सागुम्बा पाउने गर्दछन् । पहिला दौडेकाले छोडेका यार्सागुम्बा नै वृद्ध बालबालिका र महिलाको हातमा लाग्ने गरेको ठुलीभेरी नगरपालिका ६ की ५२ वर्षीया जितकुमारी रोकायाले सुनाइन् ।
अन्नपूर्णबाट