के विवाह गर्नै पर्छ र ?
  • बविता पोखरेल-

अविवाहित महिलाले समाजमा धेरै किसिमका लाञ्छनाहरु सहनुपर्छ । अविवाहित रहनु अभिशाप हो वा समाजले हेर्ने दृष्टिकोण यस्तो हो ? अविवाहित रहर हो कि बाध्यता ?  म एक अविवाहित नेपाली नारी भएको नाताले यिनै विषयमा थोरै चर्चा गरेकी छु ।

जीवन जिउन साथीको आवश्यकता पर्छ, किन एक्लै जीवन बिताउने ? भन्नेहरू पनि यहाँ धेरै छन् । तर, जब जिउनेलाई एक्लै जिउँछु भन्ने लाग्छ भने किन कसैको करकापमा आएर विवाह गर्नुपर्यो ? हाम्रो समाजमा प्रतिष्ठित अविवाहित महिलाहरू पनि नभएका होइनन् । राजनीति, कलाकारिता, पत्रकारिताजस्ता विभिन्न क्षेत्रमा रहने अविवाहित महिलाहरूलाई पक्कै पनि आफ्नो स्थान बनाउन कठिन भयो होला ।

दुई दिनको जिन्दगी हो, जसलाई जसरी सहज हुन्छ उसले त्यसैगरी बाँच्न पाउनुपर्छ । यद्यपि यो समाजमा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । ती महिलाहरूमाथि समाजले अनेक प्रश्न उठाउँछ । किन विवाह नगरेकी ?, तिमी एक्लै कसरी बाँच्छ्यौ ? गाह्रो हुदैन ?, बुढेसकालमा के गर्छाै ? मरेपछि क्रिया कस्ले गर्छ ? यि र यस्तै प्रश्नको ज्वारभाटाहरु मेरो जीवनमा पनि नआएका होइन । त्यसलाई सहज ढंगमा लिएर समाजको यही गलत सोच परिवर्तन गर्नुपर्छ भन्दै ‘पुरुषबिनाको एक्लो जीवन अधूरो हुन्छे’ भन्ने मान्यतालाई गलत साबित गर्न यहाँसम्म आएकी छु ।

जीवनको अविरल यात्रा एक्लै पनि पार गर्न सकिन्छ भने किन बाँधिनुपर्यो बन्धनमा ? जन्मिनु, विवाह गर्नु, सन्तान जन्माउनु मात्र जीवन हो र ? अवश्य होइन । त्यसैले म भन्छु अविवाहित रहनु रहर हो अभिशाप होइन ।

वास्तवमा जसले जसरी बुझे पनि जसरी व्याख्या गरे पनि अविवाहित रहनु आफैमा चुनौती हो । मेरो ३ दिदी २ दाजु र १ बहिनी छन् । म सात सन्तान मध्येकी छैठौमा पर्छु । मलाई मेरो परिवारले विवाह गर्नुपर्छ वा विवाह नगर भनेर दवाव पनि दिएका छैनन । मैले विवाह गरिन त्यसैले मलाई अंश चाहियो भनि मैले कहिल्यै आवाज पनि उठाइन र उठाउँदिन पनि बरु कहिलेकाँही आफुले सकेको केही सहयोग गर्दै आएकी छु ।

घरमा अभिभावकहरुले पनि ‘यो उमेरसम्म यसले विवाह गरिन, यसले पाउने अधिकार हामीले दिनुपर्छ’ भन्ने भावना व्यक्त गरेका छन् । मेरो ठाँउमा छोरो भएको भए सायद उसले पाउने अधिकार ऊ जसरी भए पनि लिई सक्थ्यो र दिनेले पनि दिईसक्थे । यसैबाट स्पष्ट हुन्छ कि हाम्रो नेपाली समाज अहिले पनि छोरा र छोरीको मतभेदमा अल्झिएको छ । यो सबै आफैमा भर पर्ने कुरा हो ।

छोरी नै भए पनि छोरासरह ‘केही गर्न सक्छु’ भन्ने हिम्मत गरेर दृढ विश्वास लिएर अघि बढ्ने प्रयास गरेकी छु । धेरैतिरबाट विवाहको कुरा आए, धेरै विवाहको कुरा गरे पनि मलाई खासै प्रभाव परेन । अविवाहित त्यो व्यक्ति मात्र बस्न सक्छ जसको आत्मविश्वास र आत्मबल बलियो हुन्छ । देखासिकीका आधारमा विवाह गर्दिन भनेर बस्नु हुँदैन । यदि त्यसरी बसे व्यक्तिको जीवन घर न घाटको हुन्छ ।

म भन्छु, जुन कुराको लागि पनि मनबाट आँट र हिम्मत आउनुपर्छ । यदि आँट र हिम्मत भए एक्लै बाँच्न सकिन्छ । ‘कुनै धार्मिक संस्थामा गएर बस तर अब विवाह नगरे पनि हुन्छ’ मेरो आमा र ठूली आमा मलाई यस्तै सुझाव दिनुहुन्छ । मैले उहाँहरुकै प्रेरणाले अविवाहित बस्ने अठोट गरे । गितामा लेखिएको छ- ‘जे भो राम्रै भो, जे हुन्छ राम्रैका लागि हुन्छ । भविष्यका बारेमा सोचेर चिन्तित हुनुहुँदैन, चिन्ताले मान्छेलाई चितामा पुर्याउछ ।’

त्यसैले बितेका दिनमा के भयो विगतमा भएका कमी कमजोरीहरुलाई सुधार्ने र वर्तमानमा रमाउन सके जीवनयापन गर्न कठिन हुदैन सहज तरिकाले जीवनयापन गर्न सकिन्छ । समाजमा यस्ता धेरै महिला देखेकी छु जो विवाह गरेर पछुताइरहेका छन् । सबैलाई त्यस्तै हुन्छ भन्ने त होइन । विवाह बन्धनमा बाँधिनैपर्छ भन्ने छैन । अविवाहित बस्दा धेरै कुराको सामना गर्नुपर्छ।

यही समाजको मुख टाल्न र आफुमाथि आईपरेका चुनौतिहरुलाई पन्छाउन र प्रश्नमाथि खडा भएको अर्को प्रश्नको अन्त्य गर्न एक ताका त मैले अनाहकमा आफुले विवाह गरेको हल्ला समेत फिँजाए । त्यस कुराले केही समय मलाई आत्मगलानी समेत भयो तर त्यो बनावटी कुराले मलाई एक आत्मबल हिम्मतवाल केटी बनाएर खडा गरेको छ । अहिले म पूर्णरूपमा सन्तुष्ट छु ।

साहसी महिलाहरू एक्लै पनि बाँच्न सक्छन् । अविवाहित महिला अपवादमा पर्छन् हिजोका दिन मेरा लागि पक्कै पनि सहज थिएनन् । हाल म काठमाडौमा साधारण कुनै काम गरेर आफ्नो जिविकोपार्जन गर्दैछु । म मेरो जीवनप्रति सन्तुष्टी छु । हिजो छोरी रजस्वला नहुँदै कन्यादान गर्न पाए आमाबाबुले मोक्ष प्राप्त गर्छन् भन्ने संस्कार थियो । हामी महिलामा पुरुषमा भन्दा बढी सहनशीलता, लगनशीलता, धैर्य, इमान्दारिता एवं आत्मविश्वास हुन्छ । अविवाहित रहँदा स्वतन्त्रता हुन्छ, सबै निर्णय आफैले गर्न पाइन्छ, स्वनिर्भर भइन्छ भने समाजप्रति जिम्मेवारीबोध पनि हुन्छ । मेरो जीवनबाट म आनन्दित छु ।

आजसम्म आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पित्तृसत्तात्मक सोच र चिन्तनको सङ्कुचित घेराबन्दीबाट उम्किन सकेका छैनन् । समाजसेवा गरी अन्याय एवं अराजकताविरुद्ध आवाज उठाउनेहरू कहिल्यै एक्ला हुँदैनन् । हुन त अविवाहित नारीलाई घर र समाजले हेर्ने दृष्टीकोणमा पनि फरक पर्दछ ।

विशेषत: आफ्नो दाई भाईका बालबच्चा जन्मेदेखि हुर्काउनेसम्म अविवाहित नन्द आमा नै हुन्छे तर पनि उनी क्रमशः आफ्नै जन्मघरमा पनि विस्तारै अपमानित हुन थाल्छे । दाजुभाईमा पनि अंश दिनुपर्छ भन्ने सोच पलाउँछ । त्यस्तै भाउजु र बुहारीबाट अनेकौ अपशब्दहरु पनि खानुपर्छ । भोलिको भविष्य कसले पो देखेको छ । के थाहा त्यही अविवाहित नन्द/आमाजुले भाउजु/बुहारीको हेरचाह गर्नु पर्दछ कि ?

अविवाहित महिलाप्रति घर परिवार र समाजले हेर्ने दृष्टिकोण नै साँघुरो छ । समाज बदलिएको छ, व्यवस्था बदलिएको छ तर पनि अविवाहित नारीहरुलाई हेर्ने दृष्टिकोण खासै बदलिएको देखिदैन । पहिलेको तुलनामा केही समानता त छ तर पनि न्यायोचित छैन । त्यसैले अविवाहित महिलाका हकमा राज्य पक्षले पनि केही नीति नियमहरु तर्जुमा गर्नुपर्ने देखिन्छ । जसको कारणले हामी जस्ता अविवाहित नारीलाई कुनै पनि सामाजिक, आर्थिक र राजनीतिक तत्वहरूले खासै असर पार्दैन । हरेक क्षेत्र पेशा व्यवसायमा अविवाहित नारीहरुलाई मान्यता दिनु पर्छ । वास्तवमै अविवाहित नारीले पनि यो सङ्घर्षलाई निरन्तरता दिन सक्नुपर्छ । त्यसैले सबभन्दा पहिले अविवाहित नारीहरूले आफ्नो मनोबल उच्च बनाउन जरुरी छ । कमजोर मानसिकताबाट सधैँ टाढा रहेर अगाडि बढेको खण्डमा अविवाहित नारीहरू पनि समानरूपमा सबै क्षेत्रमा अगाडि बढ्न सक्छन् यसमा दुईमत छैन ।

हालैको एक सर्वेक्षणले अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको अध्ययनको निश्कर्ष छ ।

केही समय अगाडि मात्र इतिहासविद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ? भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको बताएका थिए ।