असार १ देखि उपत्यकामा रात्रिकालीन बस सेवा

काठमाडौँ,

सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको उनले बताए ।

‘राति ९ बजेपछि बस सञ्चालन गर्न व्यवसायी सहमत छन् । अहिले केही कम्पनीसँग यो सहमति गरिएको हो । अन्य कम्पनीले पनि इच्छा देखाए राति बस सञ्चालन गर्न सक्छन्’, दाहालले भने, ‘तत्काल समेट्न नसकिएको व्यवसायी पनि यो व्यवस्थामा आउन पाउनेछन् ।’

राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन । यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यसले दिउँसो यात्रुको चाप धेरै हुने गरेको छ । यो व्यवस्थाले यस्तो बाध्यकारी समस्या हटाउने विभागको अपेक्षा छ । यो व्यवस्थाले उपत्यकाको रात्रिकालीन जीवन चलायमान बनाउने उनी बताउँछन् ।

यसअघि विभागले असार १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मालवाहक (ढुवानी) का गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको थियो । यी दुई व्यवस्थाले रात्रिकालीन जीवन चलायमान र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नेछ।
अन्नपूर्णबाट