कुलेखानी तेस्रोको विद्युत् उत्पादन एक साता भित्रै

काठमाडौँ,

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले एक सातामा विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको कार्य पनि ९९ प्रतिशत नै सम्पन्न भएको छ ।

प्राधिकरणको प्रवद्र्धनमा रहेको निर्माण भइरहेका दुवै आयोजनाको सिभिल निर्माण कार्य सम्पन्न भएर विद्युत् उत्पादनपूर्व गरिने परीक्षण जारी रहेको प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिलकुमार ढुंगेलले बताए ।

मकवानपुरको भीमफेदीमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो आयोजनाको पहिलो युनिटको आइतबार सफल परीक्षण भएको छ । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

आयोजनाको निर्माण अवधि बढेसँगै आयोजना निर्माणको लागत पनि बढेर हालसम्म ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको ढुंगेलले बताए । आयोजनाबाट वार्षिक लगभग ४० दशमलव ६५ गिगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । यसमा कुलेखानी १, २ र ३ एकैपटक सञ्चालनमा आई क्षमता वृद्धि हुने उनले बताए ।

यता रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली–३ ए’ आयोजनाले ३० मेगावाटको दोस्रो युनिटको एक साताभित्रै विद्युत् उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ ।
राजधानीबाट