स्वदेशी उत्पादन र निर्यात प्रवद्र्धन समेटिएको बजेट सकारात्मक छ, कार्यान्वयनमा ध्यान दिनुपर्‍यो : व्यवसायी

स्वदेशी उत्पादन र निर्यात प्रवद्र्धन समेटिएको बजेट सकारात्मक छ, कार्यान्वयनमा ध्यान दिनुपर्‍यो : व्यवसायी


निजी क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको प्रारम्भिक टिप्पणी गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट सकारात्मक ढंगले आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले डोमेष्टिक उत्पादनलाई प्रवद्र्धन गर्ने, निर्यात प्रवद्र्धनमा जोड दिने गरी बजेट आउनु सकारात्मक भएको उल्लेख गर्दै कार्यान्वयनमा पाटोमा पनि विशेष ध्यान दिनुपर्ने बताए । 

उनले बजेट प्रस्तुत भएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ भने, ‘यो बजेटलाई सकारात्मक रुपमा लिन सकिन्छ । यसले डोमेष्टिक उत्पादनमा जोड दिएको छ । निर्यात प्रवद्र्धन गर्ने कुरा गरेको छ । यो सकारात्मक पक्ष हो । तर यसको कार्यान्वयनमा पनि आशंका गर्न सकिन्छ ।’

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष मल्लले सरकारले ल्याएको बजेट असाध्यै सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन पनि सवल ढंगले हुनुपर्ने बताए । उनले बजेटको आकार ठूलो हुने र पछि घटाउनुपर्ने अवस्था आउन नदिने गरी कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।  अध्यक्ष मल्लले भने, ‘सरकारले ल्याएको बजेट असाध्यै सकारात्मक छ । 

तर यसको कार्यान्वयनको पाटो भने सवल हुनुपर्‍यो । बजेटको आकार ठूलो बनाउने तर पछि कार्यान्वयन गर्न नसक्दा घटाउनुपर्ने अवस्थाको भने अन्त्य हुनुपर्‍यो । हामीले दिएको सुझाव सरकारले ल्याएको बजेटमा समेटिएको छ ।’अध्यक्ष मल्लले वैदेशिक ऋण लिएर बजेटको आकार बढाउने काम गर्न नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । ’

Logo