धरहरा पुनः निर्माणको लागि समय थपिँदै

धरहरा पुनः निर्माणको लागि समय थपिँदै


काठमाडौं ।

निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ ।

पूर्व निर्धारण गरेको समय अनुसार आगामी असोज तेस्रो सातासम्ममा काम सम्पन्न गर्नुपर्छ । हालसम्म ४१ दशमलब ५ प्रतिशत मात्र काम भएकाले अब तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था नभएकाले समय थप गर्न लागिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार निर्माण कम्पनीले एक वर्षको लागि समय माग गरेको छ । तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीकै माग र आवश्यकता अनुरुप समय थप गरिन्छ ।

निर्माणको क्रममा अहिलेसम्मा १३ तलाको काम सम्पन्न भएको छ भने १४ तलाको काम भइरहेको छ । निर्माणका लागि हालसम्मा रु एक अर्ब १३ करोड सकिएको पनि मानन्धरले जानकारी दिए ।

नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि कोरोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको अभाव भएपछि निर्माणको काम तोकिएको समय भन्दा पर धकेलिएको हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनःनिमार्णको काम तीन वर्ष बितेपछि अघि बढेको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको थियो । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।

ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि अघिल्लो पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताएका थिए।

पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ । जहाँ दुईवटा लिफ्ट हुनेछ । एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल लगायत रहने छन् ।

एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालय लगायतको सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा चढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउण्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । जहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।रासस

Logo