काठमाडौंबाट निस्किएको फोहोरको पीडा अब सिसडोलवासीले भोग्नु पर्दैन : बालेन्द्र साह

काठमाडौंबाट निस्किएको फोहोरको पीडा अब सिसडोलवासीले भोग्नु पर्दैन : बालेन्द्र साह


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताएका छन् । सोमवार महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनले काठमाडौंबाट निस्किएको फोहोरको पीडा अब नुवाकोटको सिसडोलवासीले भोग्न नपर्ने बताए । उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म खुशीयाली नमनाउने साहको घोषणा छ । 

मेयर साहले भने, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’ 

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक, हित, अधिकार र सहज जीवनयापनका लागि खर्चने प्रतिवद्धता व्यक्त गरिन् । व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि महानगरलाई समृद्ध बनाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । उपमेयर डंगोलले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागि पर्ने बताइन् ।  

उपमेयर डंगोलले भनिन्, ‘आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र काठमाडौं वासीको जीवन साच्चिकै सहज होस् भन्नको लागि हामीले पाइला चालेका हाैँ । सोहीअनुसार काम हुनेछ । अब हामी सबैले टिमवर्कमा रहेर काम गर्नेछौँ । हामीले व्यक्तिको सफलता, असफलता पछि लागेर होइन, संस्थाको सफलता हुनुपर्छ । काठमाडौं महानगरपालिका संस्था आफैँमा सफल भयो भने काठमाडौंवासी मत दिएको सफल हुनेछ । हामीले प्रतिवद्धता गरेका कुरलाई बजेटमा समावेश गर्ने पहिलो प्राथमिकता हुन्छ । सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौं महानगर र काठमाडौं वासीहरुको लागि काम गर्नेछु । जीवन्त, व्यवस्थित र सांस्कृतिक काठमाडौं महानगर बनाउन पाइला चाल्नेछु ।’

गत वैशाख ३० गते भएको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह प्रमुख र एमालेकी उम्मेदवार सुनिता डंगोल उपप्रमुखमा निर्वाचित भएका हुन् ।

Logo