सुन्दर हरिजनको मृत्यु घटनामा कारागार कर्मचारीको मिलेमतो देखिएन : छानविन समिति

सुन्दर हरिजनको मृत्यु घटनामा कारागार कर्मचारीको मिलेमतो देखिएन : छानविन समिति


रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनामा कारागारका कर्मचारीको संलग्नता नदेखिएको छानविन समितिले निष्कर्ष निकालेको छ । 

घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई सोमबार प्रतिवेदन बुझाएको छ । कारागार विभागले जेठ ६ मा विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सुरुमा समिति गठनबारे केही विवरण सार्वजनिक नगरेकामा गत शनिबार मात्र गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले चापागाईंको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको सार्वजनिक गरेका थिए । 

१० दिनको कार्य समय दिएर गठन भएको समितिले सोमबार १० औं दिन प्रतिवेदन बुझाएको हो । समिति संयोजक चापागाईंले हरिजनको मृत्यु आत्महत्याबाटै भएको देखिएको, शाह जेलबाट हरिजनको नाममा भागेको तर उनको सजाय हरिजनले नै भोग्दै गरेको पाइएको बताए ।

उनले घटनास्थल मुचुल्का र पोस्टमार्टम प्रतिवेदन हेरेको कैदी र सुरक्षाकर्मीसँग कुराकानी गर्नुका साथै घटनास्थल अवलोकन गरेको बताएका छन् । शौचालयमा भित्रबाट चुकुल लगाएको अवस्थामा झुन्डिएकाले मृत्यु आत्महत्याबाटै भएको ठहर गरेको  प्रतिवेदनबारे जानकारी दिँदै संयोजक चापागाईंले बताए । नाबालक रहेकै अवस्थामा नेपालगन्जका हरिजनलाई कारागार पठाइएको र जघन्य अपराधमा मुछिएका सुर्खेतका विजयविक्रम शाहको नामबाट हरीजनले सजाय भुक्तान गरिरहेको खुलासा भएको थियो ।

हरिजन अहिलेसम्म पनि जेलमा रहनुपर्ने व्यक्ति होइनन् । जेलमा रहनुपर्ने शाह भागेको र उनको सट्टामा हरिजन जेलमा रहेको पाइयो  संयोजक चापागाईले भने।, यो कसरी हुन गयो भन्नेबारे शाह पक्राउ परेपछि खुल्ने उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)को रोल्पा कारागारमा  ‘शंकास्पद’ मृत्यु भयो । कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो । कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भयो । हरिजनको शव रोल्पाबाट ल्याएर नेपालगन्जस्थित नर्सिङ होममा राखिएको छ ।

विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याएका हुन्। परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ । 

 

चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए । परिवारका अनुसार उनी १६ वर्षको छँदा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरी नाबालकमाथी मुद्दा चलाएको थियो । त्यसपछि बाँके जिल्ला अदालतले सुन्दरमाथी एउटा मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तथा अर्कोमा ३ महिना कैद र ५० हजार जरिवानाको फैसला गर्यो । 

अदालतको फैसला अनुसार उनी जरिवाना बुझाएमा २०७७ पुस २३ गते जेल मुक्तहुने थिए । कारागार प्रशासनका अनुसार जरिवाना बुझाउन नसकेपनि उनी २०७८ असार १० गते जेलमुक्त हुने निश्चित थियो । तर, उनी छुट्ने समय आउनु भन्दा करिव डेढ महिना अघि अर्थात् २०७७ मंसिर ८ गते उनको अचानक रोल्पा कारागार सरुवा गरियो । 

त्यतिबेला नेपालगन्ज कारागार प्रशासनले सुन्दर र विजय विक्रमसहित ५ जनालाई रोल्पा सरुवा गर्यो । तर, रोल्पा कारागार प्रशासनले सुन्दरलाई जेलमै राखेर उनको नाममा विजय विक्रमलाई छाडेको रहस्य बाहिर आएको छ । 

Logo