बृहत भारतीय शैक्षिक मेला हुँदै

दशौँ बृहत भारतीय शैक्षिक मेला २०७६ (इन्डिया एडमिसन एक्स्पो २०१९) आगामी शनिवारदेखि शुरु हुने भएको छ । ‘उच्च शिक्षाका लागि सही गन्तब्य भारत हुन सक्छ’ भन्ने अभिप्रायले द नलेज नेटवर्कले काठमाडौंको होटल याक एण्ड यतिंमा मेला आयोजना गर्न लागेको हो ।

जेठको ३२ गते देखि असार १ गतेसम्म दुई दिन चल्ने मेलामा भारतका विभिन्न स्थानका ५० भन्दा बढी कलेज तथा युनिभर्सिटीले सहभागिता जनाउँने भएका छन् । इन्डिया एजुकेशनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामार्फत विद्यार्थी र अभिभावकलाई इन्डियन एजुकेशनको विस्तृत जानकारी प्रदान गरिने द नलेज नेटवर्कका सिओओ राम मेरानीले जानकारी दिए ।

भारतका विभिन्न प्रान्तमा रहेका शैक्षिक संस्था एकैथलोमा रहेर जानकारी प्रदान गर्ने बताउँदै उनले मेलाको अवलोकनपछि विद्यार्थीहरुले सही विषय र सही शिक्षण संस्था छान्न सजिलो हुने बताए । उनले मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिङका लागि सम्बन्धित शिक्षण संस्थाका डाइरेक्टर, प्रिन्सिपल र प्रोफेसर स्वयं उपस्थित हुने पनि जानकारी दिए । मेलामा सहभागि हुने सबै कलेज र युनिभर्सिटीहरु न्याक र निर्फबाट मान्यता प्राप्त शिक्षण संस्था मात्रै हुने उनले बताए ।

मेलामा इन्जिनियरिङ, म्यानेज्मेन्ट, मेडिसिन, फार्मेसी, होटल म्यानेज्मेन्ट, डिजाइन, फेसन टेक्नोलोजी, बायो टेक्नोलोजी, मेरिनलगायतका विषय अन्तर्गतका एक सय भन्दा बढी कोर्सको बारेमा विद्यार्थीलाई जानकारी दिईनेछ ।

मेलामा विद्यार्थीको एकेडेमिक एक्सिलेन्सको आधारमा शैक्षिक संस्थाहरुले दर्जनौ विषयमा छात्रवृत्ति समेत प्रदान गर्नेछन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ भने मेलाको अवलोकन गर्न जाने विद्यार्थीहरुका लागि उपहारको समेत व्यवस्था गरिएको छ ।