गुठी बिधेयक फिर्ता नगरे आन्दोलन गर्छौ- राप्रपा (संयुक्त)

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गुठी बिधेयक तत्काल फिर्ता नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै  अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने गरि ल्याएको बिधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन्।

अध्यक्षद्धयले उक्त विद्येयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खलबलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भू–माफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए  ।

अध्यक्ष जबराका अनुसार यथार्थमा परम्परागत गुठी संरचनामा निहित र सामूहिकताको संस्कार मासेर गुठीको सम्पत्तिको नाङ्गो तरिकाबाट व्यवसायीकरण गर्ने र गुठीमा हजुरीया पुँजीवादलाई प्रोत्साहन गर्ने सरकारी लक्ष्य स्पष्ट छ ।

त्यस्तै, कार्यक्रममा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उक्त विद्येयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर बिक्री गर्न पाउने गरी हजारौं रोपनी विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए ।