भाडावृद्धिको निर्णयबाट सरकार पछि हट्यो, ५ घण्टामै फिर्ता

काठमाडौं,
सरकारले आजै मात्र गरेको भाडावृद्धिको निर्णय ५ घण्टामै फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै भाडा वृद्धिका सम्बन्धमा थप छलफल आवश्यक भएकाले यो निर्णय तत्काल लागू नहुने जानकारी दिएको हो ।

यस अघि सरकारले सबै खाले सवारी साधनमा असार १ गतेदेखि लागू हुने गरी १२ प्रतिशत भाडा बढाएको बताएको थियो ।

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थाहा पाउने बित्तिकै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका थिए । सरकारले वृद्धि गरेको भाडाका विषयमा सर्वसाधारणसँगै यातायात व्यवसायी समेतले असन्तुिष्ट जनाएपछि यो निर्णय हालका लागि अर्को सूचना प्रकाशित नहुन्जेल स्थगित गरिएको हो ।

गएको दशैंमा बढाएको भाडा एक वर्ष नहुँदै पुनः बढाइएको भन्दै सर्वसाधारण आक्रोशित भएका थिए भने आफूहरुसँग छलफल नै नगरी बढाएको भाडादर वैज्ञानिक नभएकोे भन्दै व्यवसायीले पनि असन्तुष्टि जनाएका थिए । यसअघि दशैंको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो ।