रुपन्देहीमा तीन कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देहीमा तीन कोरोना सङ्क्रमितको मृत्यु


रुपन्देही ।

रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।

यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर– ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बिहान बुटवल उपमहानगरपालिका– ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुर्घटनामा निधन

रुपन्देही जिल्लाको गैडहवामा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । गैडहगवा गाउँपालिका वडा नं ५ तेलण्डियास्थित लुम्बिनी–कलौनी सडकखण्डमा लु १४ प ७९४४ नंको मोटरसाइकल आज आफैँ अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा चालक रूपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय समुजराम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा घाइते केवटको उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए। उक्त दुर्घटनामा हात र खुट्टामा सामान्य चोट लागेका मोटरसाइकलमा सवार ३५ वर्षीय गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।रासस

Logo