राजदूत सिफारिस पनि विवादमा

काठमाडौं,

सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको छ । दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको हो । आफैंले तयार गरेको ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका’ बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

यसअघि तत्कालीन माओवादी नेता राम कार्कीलाई सरकारले भारतका लागि राजदूत नियुक्ति गरेको थियो । तर उनी पत्नी भारतमै सरकारी सेवामा कार्यरत रहेका कारण कार्कीको सहमति (एग्रिमो) आएको थिएन । कूटनीतिमा स्वार्थको टकराव हुने अवस्थामा नियुक्ति नहुने अभ्यास छ । तर सरकारले ती अभ्यास र आफ्नै निर्देशिकाको बेवास्ता गर्दै दाहाललाई सिफारिस गरेको हो ।

दाहालकी पत्नी प्रभा अमेरिकामै स्थायी बसोबास गर्दै आएकी छिन् । अमेरिकास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दाहालको अमेरिका आउजाउ र पत्नी प्रभाको अवस्थाबारे पूर्ण जानकारी दिएको छ । दाहालले आरम्भमा अमेरिकाकै राजदूतमा नियुक्तिका लागि प्रयास गरेका थिए । त्यसमा असफल भएपछि उनले अस्ट्रेलियाका लागि सिफारिस प्राप्त गरेको परराष्ट्र अधिकारी बताउँछन् ।
अन्नपूर्णबाट