रवि ओड र बेनिशा पौडेलेको ‘सुन माया’ सार्वजनिक

रवि ओड र बेनिशा पौडेलेको ‘सुन माया’ सार्वजनिक


गायक रवि ओड र गायिका बेनिशा पौडेलको ‘सुन माया’ बोलको गीत सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको हो । गरिमा फिल्मले तयार पारेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।

भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ । उनीहरुबीचको टिनएज प्रेमलाई भिडियोमा देखाउ खोजिएको छ । भिडियोलाई नवराज उप्रेतीले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक रवि ओडले गीत संगीतलाई माया गर्न दर्शक,श्रोतालाई अनुरोध गरे । गीतमा नयाँ बालकलाकार रहेकोले भिडियो पनि उत्कृष्ट बनेको बताए । त्यस्तै गायिका पौडेलले गीतसँगै भिडियो पनि उत्कृष्ट रहेको बताइन् ।

त्यस्तै कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए । उनले भने, ‘प्रायः म्यूजिक भिडियोमा  उमेर पुगेका कलाकारहरुले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा(युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’

त्यस्तै निर्देशक पाण्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा–युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए ।

उनले भने, ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा–युवतीलाई अभिनय गराउने प्रश्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनौट गर्‍यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो ।’
निर्देशक पाण्डेले आफ्ना हरेक भिडियोमा केही न केही नयांपन देखाउने गरेका छन् ।

Logo