स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजना भएका १५ स्थानमा सौर्य ऊर्जा जडान

स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजना भएका १५ स्थानमा सौर्य ऊर्जा जडान


गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिँचाइ आयोजनामा सौर्य ऊर्जा जडान गरेको छ ।     
     
अमेरिकाबाट आएका संस्थाका प्रतिनिधिले आफै श्रमदान गरेर सौर्य ऊर्जा जडान गरेका हुन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा नपुगेको र लघुजलविद्युत् परियोजना निर्माण गर्न सम्भव नभएका दुर्गम बस्तीका साथै विद्यालय र शैक्षिक संस्थामा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सोलार जडान गरेका हुन् ।     
     
मङ्गला गाउँपालिका–३ बान्द्रेमा म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न पाँच किलोवाट क्षमताको सोलार जडान गरेका छन् । यसअघि मालिका गाउँपालिका–५ देवीस्थान र रघुगङ्गा गाउँपालिका-६ को पाखापानी स्वास्थ्यचौकीमा ७।३७ किलोवाट क्षमताको सोलार जडान गरेका थिए । 

बान्द्रेका सन्तोष गिरीले सौर्य ऊर्जा जडान गरेर म्याग्दी नदीको पानी ११५ मिटरमाथि रहेको नहरबाट १३ घरधुरीको २५० रोपनी जमिनमा बाहै्र महिना सिँचाइ गर्ने सुविधा भएको बताए ।     
     
 “बस्तीमुनीको म्याग्दी नदीको पानी खेर गए पनि सुक्खा याममा सिँचाइ अभावमा खेतीबाली लगाउन, सिँचाइ गर्न र ब्याड राख्न समस्या हुने गरेको थियो”, उनले बताए ।, “सोलारबाट लिफ्ट सिँचाइ भएपछि बाह्रै महिना खेती गर्न सकिने भएको छ ।” संस्थाका प्रतिनिधि र प्राविधिकसहित २६ जनाको टोलीले सोलार जडान र नदी किनारमा इनार बनाउन १२ दिन श्रमदान गरेका थिए । 

उनीहरुले मङ्गला माविमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई हस्तकलासम्बन्धी तालिम दिएका थिए । सन् २०२१ को डिसेम्बर महिनायता बागलुङको ताराखोला स्वास्थ्यचौकी, धादिङको चौकी भञ्ज्याङमा सोलार मिल, पर्वतको चित्रेको स्वास्थ्य चौकीमा सौर्य ऊर्जा र सोलार मिल, मोदी गाउँपालिकाको लेरपार स्वास्थ्यचौकीमा सौर्य ऊर्जा गरेका संस्थामा आबद्ध सामाजिक कार्यकर्ता चित्र तिलिजा पुनले बताए ।     
     
स्वास्थ्यचौकीमा वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था भएपछि फ्रिज, डिपफ्रिज, एक्सरे, कम्प्युटर, प्रिन्टर, रकसन मेसिन, बेवी वार्मरलगायतका उपकरण आवश्यक परेको जुनसुकै समयमा प्रयोग गर्न सकिने भएको छ । बिरामीको उपचार, औषधि भण्डारण र सेवा विस्तारमा सहज भएको देवीस्थान स्वास्थ्यचौकीका प्रमुख तेजिन्द्र रानाले बताए ।     
     
म्याग्दीको धौलागिरि गाउँपालिका-४ बगर र चेचुङमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाको देउराली आधारभूत, काफलडाँडा आधारभूत, आदर्श मावि, टिकोट मावि, सर्वोदय मावि, मुक्तिमार्ग मावि, खिवाङ आधारभूत, नांगीको सामुदायिक अस्पताल, राम्चे स्वास्थ्यचौकी र टिकोट सामुदायिक स्वास्थ्य एकाइमा पनि सौर्य ऊर्जा जडान गरिएको छ ।     
 

Logo