“जेब्राक्रस” माथि साहित्यकारहरुको धारणा

ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं,

साहित्यकार तर्कना शर्माको पहिलो उपन्यास जेब्राक्रसको चर्चा हिजोआज वढीरहेको छ । चर्चा वढ्नुको मुख्य कारण हो यसमा प्रयोग भएको नौलोपन । समाजमा रहेका सीमान्तकृत समुदायसँग सम्बन्धित विषयलाई महत्व दिने लेखिका शर्माको प्रस्तुत उपन्यास जेब्राक्रसले फरक शैलीमा महिला स्वाभिमानको पक्ष लिएको छ । यति मात्र होइन, रोचक र कौतुहलपूर्ण दमदार प्रस्तुतीले उपन्यासलाई पठनिय बनाएको छ ।

उपन्यासमा प्रस्तुत भएको विषयवस्तु अनुसार प्रेमपछि विवाह भएको उपन्यासकी नायिका त्यतिबेला अप्ठ्यारो अवस्थामा पुग्छे, जब उसले आफ्नो श्रीमान् समलिङ्गी भएको थाहा पाउँछे । समाजमा देखाउनकै लागि आफूमाथि नक्कली प्रेम र सक्कली विवाह भएको थाहा पाएपछि नायिकाले पारपाचुकेको निर्णय गर्छे । यो निर्णय गर्नुअघिको महिलाले भोग्नुपर्ने सामाजिक प्रताडना र पारपाचुकेपछि पुनः गर्नुपर्ने आर्थिक संघर्षका संकेतले उपन्यासलाई सुन्दर र सफल बनाएको छ ।
उपन्यासले एकै साथ नेपाली समाजको महिला पुरुषबीचको फरक, आर्थिक र समाजिक विभेद र आधुनिक मानिसको समाजको कुरुपता लगायतलाई पस्केको छ । उपन्यास नेपाली साहित्यमा नौलो अभ्यास मात्र भएको छैन, स्वयं लेखिकालाई चिनाउने सुनौलो अवसर पनि भएको छ ।

गत वैशाख २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच साहित्यकार तर्कना शर्माद्वारा लिखित उपन्यास जेब्राक्रस सार्वजनिक गरिएको थियो । जेब्राक्रस उपन्यास साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो । पत्रकार, साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरुले यस कृतिमाथि आफ्ना धारणा राखेका छन् । जस मध्ये डा.रजनी ढकाल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि आ–आफ्नो धारणा राखका थिए ।

उपन्यास जेब्राक्रसमाथि टिप्पणी गर्दै डा.रजनी ढकालले उपन्यासले महिला समस्यालाई ज्यादै शिष्ट तरिकाले आङ् नै जिरिङ हुने गरी सरल र सरस भाषामा सम्बोधन गर्न सफल रहेको बताउँदै उपन्यासले नेपाली साहित्यमा समलिङ्गीहरूका अनुभव र अनुभूतिको गहिराइलाई पाच्य भाषामा उतार्न सफल रहेको बताइन् । साथै यो विषय नेपाली साहित्यको मात्र नभएर विश्वव्यापी बहसको विषय हो जहाँ पितृसत्ताका कारण महिलामाथि हुने दमन, शोषण र अन्यायको खुलेर विरोध गरिएको बताइन् ।

डा.तारालाल श्रेष्ठले नेपाली साहित्यमा समलिङ्गीका अनुभूति र समस्याको गहिराइ छाम्न कृति सफल रहेको बताउँदै उपन्यासले ज्यादै कौतूहलपूर्ण तरिकाले विषम लिङ्गी र समलिङ्गी बीचको वैवाहिक सम्बन्धमा आउने उतारचढावलाई सुक्ष्म सम्बोधन गरेको बताए । उपन्यासकारको ध्यानाकृष्ट गर्दै उनले भने, ‘पुरातनवादी समाजले तपाईंलाई लाञ्छना लगाउन सक्छ ।’ समलिङ्गीहरूलाई कानुनी मात्र नभएर सामाजिक रूपमै सहज बनाइनु पर्ने धारणा राख्दै उपन्यासमा पढ्दापढ्दै पाठकको मस्तिष्क हल्लाउने क्षमता रहेको बताए ।

यस्तै साहित्यकार भुवनहरि सिग्देलले उपन्यासमाथि आफ्नो धारणा राख्दै प्रस्तुत कृतिले मानवीय अनुभूतिका सुक्ष्म कोण समात्न सफल रहेको बताए । उनले भने, ‘उपन्यासमा आएका घटना, पात्र र कथानकमा ज्यादै रोचकता रहेको हुँदा उपन्यास पठनीय बनेको छ ।’ समलिङ्गीहरूको मन, मस्तिष्क र अनुभूतिको गहिराइमा पस्न लेखक सफल भएको उनको भनाई थियो ।

उपन्यासकार तर्कना शर्माले कोही प्रकृतिभन्दा बाहिर जान सक्दैन भन्दै समाजमा हाँसोको पात्र बनाइएका समलिङ्गीहरू पनि मान्छे हुन्, उनीहरूलाई मान्छेको जस्तो व्यवहार र इज्जत गरिनु पर्ने बताइन् । समलिङ्गीका अनुभव, अनुभूति र उनीहरूको समस्यामाथि बहस र चर्चा चलाइनु पर्ने उनको धारणा थियो ।

जेब्राक्रस एउटा प्रतिकात्मक शब्द भएकाले उपन्यासलाई धरातलमा उभ्याउन सफल भएकोमा विभिन्न साहित्यानुरागीहरुले आआफ्ना धारणाहरु दिइरहेका छन् । छोटो समयमै यसको चर्चा वढीरहेका पाइएको छ ।