छात्राहरूमाथी यौन दुर्व्यवहारको आरोपमा होस्टेल वार्डेन पक्राउ

छात्राहरूमाथी यौन दुर्व्यवहारको आरोपमा होस्टेल वार्डेन पक्राउ


जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टल वार्डेन रामजी बस्नेत छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

होस्टलका छात्राहरूमाथि यौन दुर्व्यवहारको आरोपमा अभिभावक र स्थानीयले शिक्षालय घेरेपछि बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

शिक्षालयका छात्राहरूसमेत उत्रिएर शिक्षालय घेराउ गरेपछि बस्नेतलाई रामेछाप प्रहरीले पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। यसअघि प्रहरीले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी श्रीमतीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

उनीहरूकै सूचनाका आधारमा रामेछापमा रहेका होस्टल वार्डेन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। वार्डेन बस्नेतले  होस्टलमा रहेका छात्राहरूको संवेदनशील अंग छुने र अश्लील भिडिओ देखाउने गरेको गुनासो सार्वजनिक भएको थियो। बस्नेतको व्यवहारबारे प्रिन्सिपललाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नगरेको गुनासो उनीहरूले प्रहरीसमक्ष गरेका थिए। पीडित छात्राहरूका आफन्तले उजुरी दिएपछि महानगरीय प्रहरी वृत बौद्धको टोली जोरपाटीस्थित शिक्षालय पुगेको थियो।

यसअघि चावहिलस्थित सेन्ट लरेन्स कलेजमा पनि शिक्षकबाटै छात्राहरूले  यौन दुर्व्यवहारको शिकार हुनु परेको थियो। गत जेठ १० गते छात्राहरू र अभिभावक आन्दोलित भएपछि एकजना शिक्षक तथा कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरीले हिरासतमा लिएको थियो।

Logo