महिला पनि मान्छे नै होइन र ?
"कता जाँदै छ हाम्रो समाज ? "
  • बबिता पोखरेल-

हाम्रो समाजमा छोरीचेलीमाथिको हिंसा गर्भदेखि नै शुरु हुन्छ । त्यसैले त कतिपय छोरीचेलीहरु गर्भमै मृत्युवरण गरिरहेका छन् । कतिपय गर्भबाटै कुपोषित भएर जन्मिरहेका छन् भने कतिपय जन्मिनासाथ हिंसा खेप्न बाध्य छन् । धर्तीमा आएर आँखा चल्मलाउनुअघि नै उनीहरुमाथि तिरस्कार शुरु हुन्छ ।

किनकी हाम्रो समाजलाई आमा, श्रीमती, दिदिबहिनी चाहिन्छ तर छोरी चेली चाहदैन् । ति छोरीचेली भाग्यमानी हुन् जसले अभिभावकको माया, ममता र साथ पाएका छन् । ग्रामिन क्षेत्रको कुरा त गरी साध्य छैन आफूलाई शिक्षित ठान्ने व्यक्तिहरु समेत यो मामिलामा कँही न कतै चुकेकै हुन्छन् ।

जब जन्मेर हुर्किन थाल्छे तब उनी अवोध बालिकामाथि आफ्नै परिवारबाट शारिरिक, मानसिक तथा संवेगात्मकरुपमा शोषण हुन्छ । उनी आफन्तदेखि पराईसम्मको यौन आकांक्षा पुर्ति गर्ने साधन बन्न बाध्य हुन्छिन । करणीदेखि बलात्कारसम्मको पीडा मात्रै होईन बिना अपराध हत्यासम्मको सजायँ भोग्न बाध्य हुन्छिन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिको अग्रदुत गौतम बुद्ध, हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको देशमा अशान्ति र हत्या हिंसाको अमनचयन छ । यौनजन्य आपराधिक घटनाहरु बढ्दो छ । घर, विद्यालय, सार्वजनिक सवारीसाधन, कार्यस्थललगायत हरेक क्षेत्रमा यौनहिंसा हुने गरेका छन् । अपरिचित व्यक्ति मात्र होइन आफन्त, विद्यार्थी, वृद्धा, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका छन् ।

जन्मेकी एउटी अबोध बालिकाले सुन्दर संसारको कल्पना समेत गर्न पाएकी हुँदैनन् त्यो संसार नै भताभुङग हुन्छ । हरेक समय कुनै न कुनै बालिका कहाँ कसरी कस्तो व्यक्तिको शिकार बनेको समाचार आइपुग्छ । कतिपय घटना त परिकल्पना भन्दा पनि बाहिरको अपाच्य घटनाहरु भईरहेका हुन्छन् ।
हाम्रो समाज कताबाट कतातर्फ जादैछ ? हिजो यही समाजमा त्यही छोरीलाई सरस्वती, लक्ष्मी, भगवती दुर्गा माताको रुपमा पुजिन्थ्यो । तर, अचेल छोरी चेलीहरु एक्लै घरमा, आँगन छिमेकमा, अनि बाटोमा हिड्न सक्ने अवस्था छैन ।

बालिका हुन् या वृद्धा जुनसुकै उमेर समूहका महिला आफ्नै परिवारमा पनि सजग र सतर्क नरहने हो भने जुनसुकै समयमा शिकार बन्न सक्छन् । आफ्नै बाबुबाट छोरी बलात्कृत भएका घटना पनि हालै सार्वजनिक भएको छ । आफ्नै हजुरआमालाई बलात्कार गरी हत्या गरेका घटना पनि सार्वजनिक भएका छन् । कामदार महिलाको अवस्था त झनै दयनीय छ । मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्ने शिक्षकबाट पनि विद्यार्थीहरू यौनहिंसामा परिरहेका छन् । विभिन्न बहानामा छात्रालाई एक्लो पारी जिस्काउने, अनावश्यक रूपमा छुने, अश्लील शब्द प्रयोग गर्ने, अश्लील चित्र भिडियो देखाउने, कोट्याउने, लगायतका दुव्र्यवहार गरिरहेका हुन्छन् । विद्यार्थी खुलेर यस्ता समस्या आफ्नो अभिभावकलाई सुनाउन र त्यसको प्रतिकार गर्न सकिरहेका हुँदैनन् । जसको कारण यौनजन्य क्रियाकलापमा कमी आउन सकेको हुँदैन ।

विगतको राज्यको विद्यमान पितृसत्तात्मक सामाजिक संरचना, लैंङ्गिक, सामाजिक, सांस्कृतिक र आर्थिक विभेदले बालिकाहरू झनै शोषित र जोखिम अवस्थामा छन् । घर, परिवार, समुदायदेखि देशका हरेक क्षेत्रमा बालिकाले भेदभाव, दुव्र्यवहार, शोषण, अन्याय सहनुपरेको छ ।

अझ अनौठो त के छ भने प्राकृतिक नियम महिनावारीलाई पनि अछुतोको रुपमा व्याख्या गरी घृणा, दुव्र्यवहार र हिंसा हुँदै आएका छन् । यौन दुव्र्यवहार तथा यौन शोषणको सिकार बनाइएका घटना प्रायः सधै सञ्चारमाध्यमहरुमा प्रशारण प्रकाशन भईरहेका छन् । यसै तथ्यलाई आत्मसात गर्दा पनि बालिकाको विकासको मूल अवरोध सामाजिक विभेद र सांस्कृतिक तथा हानिकारक परम्परावादी प्रचलन रहेको प्रष्ट देखिन्छ ।

यौनजन्य हिंसा अहिले एक सामाजिक समस्याको रूपमा देखिएको छ । एकातर्फ आम जनमानसमा कानुनी अनभिज्ञता रहेको छ भने अर्कोतर्फ कानुनी प्रावधानअनुसार प्रमाण पु¥याउन कठिनाइ देखिन्छ । पारिवारिक सदस्यबीच यस्ता विषयमा खुलेर कुरा राख्न नसक्ने र सामाजिक रूपमा इज्जतसँग तुलना गर्ने परिपाटीले गर्दा यौनजन्य हिंसामा न्यूनीकरण आउन सकेन ।

यसर्थ सबैले खुलेर आफू यौनजन्य हिंसामा परेको भन्नेलाई सम्मान गरी पीडकलाई कानुनी कठघरामा ल्याउने र यौनजन्य हिंसा गर्ने व्यक्तिलाई तिरस्कृत गर्ने हो भने पक्कै पनि यस्ता दुर्ब्यबहारमा कमी आउन सक्ने देखिन्छ ।

बलात्कारको घटनालाई लिएर जताततै सरकार र सरकारमा भएको ऐन कानुनको बिरोध भईरहेको छ । तर, के बिरोध गर्दैमा बलत्कारको घटना कम गर्न सकिन्छ ? बलत्कारीलाई फाँसी हुने कानुन ल्याउँदैमा बलत्कारको घटना कम होला ? सायदै हुँदैन् होला किनकी कानुन त्यो जादुको छडी हैन जसको प्रयोग गर्नेले जे चाहन्छ त्यही हुन्छ ।

मात्रै कानुन परीवर्तन गर्दैमा बलत्कार कम गर्न सकिँदैन् । बलत्कार कम गर्नका निम्ती सबैमा त्यो मानसिकता बसाल्नु जरुरी छ । नारी आमा हुन्, नारी चेली हुन् अनि नारी हरेक पुरुषको जीउने आधार पनि हुन् । जबसम्म सबै पुरुषहरुले नारी प्रति हेर्ने दृष्टीकोण परीवर्तन गर्दैनन् तबसम्म हरेक दिन नारी बलात्कृत भईरहन्छिन् ।

धनीले गरिवलाई ठूलाले सानालाई , बलियाले निर्धालाई गर्ने व्यवहार भन्दा फरक पिडाको अनुभूति र पलपल मरेर बाँच्नुपर्ने बलात्कृत परिस्थिति सिर्जना भएको अनुमान लगाउन सकिन्छ ।

नेपालको संविधानमा नेपालमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक विभेदको अन्त्य गर्ने मार्गदर्शन गरेको छ । साथै लैङ्गिक भेदभाव नहुने भन्दै समान कामको समान ज्याला, पैतृक सम्पत्तिमा समान हक, बालविवाह, अपहरण, गैरकानूनी ओसारपसार र बन्धक बनाउन नपाइने, सांस्कृतिक वा धार्मिक चलनको नाममा दुव्र्यवहार, उपेक्षा, हिंसा, यौनजन्य वा अन्य कुनै पनि प्रकारका शोषण गर्न नपाई व्यवस्था गरेको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि विभेदको अन्त्य र बालिकामाथि हुने दुव्र्यवहारबाट संरक्षणको लागि विशेष व्यवस्था गरेको छ । यसको व्यवहारिक कार्यान्वयनको लागि मूल कडीको रुपमा समाजका विद्यमान बालिका तथा महिलामाथि हुने सबै खाले भेदभावको अन्त्य गरी देश विकासमा बालिकाको समान सहभागिताका पूर्ण सुनिश्चितता हुनु वाञ्छनीय छ ।

हाम्रो समाजमा जतिसुकै बिकास र परीवर्तनको कुरा आएपनि महिलालाई हेर्ने दृष्टीकोणमा परीवर्तन भएको छैन् । यहाँ पुरुषवादी सोचाई परिवर्तन हुन सकेको छैन् ।
बलात्कृत महिलालाई समाजले पटकपटक भावनात्मक बलत्कार गरिरहन्छ । बलात्कृत चेलीलाई ज्यूदै मारिरहन्छ । समाजको डरले कतिपय बलत्कारका घटनाहरु बाहिर आउँदैनन् । यदि आईहाले भनेपनि पैसा र पहुँचवालाहरु छुटिहाल्छन् । पैसा र पहुँच नहुनेहरु पाँच बर्षदेखि २० बर्षसम्म जेल बस्छन् । त्यही बलात्कृत महिला अनि सोझा जनताले तिरेको करकै पैसाबाट दाल भात र भत्ता बुझेर बस्छन् बलत्कारीहरु ।

हाम्रो देशमा बलत्कारीहरुको सजाएका लागि बलियो कानुन छैन् र भएका कानुनहरु पनि कडाईका साथ कार्वान्वयन भएका छैनन् । महिलाप्रति हेर्ने दृष्टीकोणलाई फराकिलो बनाउन सके सभ्य ब्यक्तित्वको पहिचान दिन सकिन्छ ।