#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1584982947201137187353075
नेपाल9081

विद्यालयभित्रै बियर पार्टी: प्रधानाध्यापकद्वारा स्वीकार

विद्यालय अर्थात विद्या आर्जन गर्ने थलो । शान्ति क्षेत्रको रुपमा लिइने विद्यालयमा अनावश्यक भिडभाड र हो–हल्ला निषेधित मानिन्छ । त्यसैले विद्यालय परिसरमा धुमपान, मद्यपान र रमाइलो तामझाम गर्ने त कुरै भएन । अरुलाई राम्रो ज्ञान दिने शिक्षकहरुले त झन विद्यालयमा यस्तो गतिविधि गर्न नैतिक र कानूनीरुपमा पनि मिल्दै मिल्दैन ।

तर, मकवानपुरको एउटा गाउँपालिकामा भने ठिक विपरित भएको पाइएको छ । विद्यालयभित्रै बियर पार्टीका साथ रमाईलो गरेको पाइएकोे हो । फोटो हेर्दा कुनै होटलमा गरिएको रमाईलो पार्टीको जस्तो देखिन्छ । हरेकसँग एउटा बियरको बोतल छ । केहीको भागमा त दुई वटा बोटल र गिलास समेत देखिन्छ । निकै मोजमस्ती देखिएको फोटो विद्यालयभित्रै आयोजित बियर पार्टीमा सामेल शिक्षकहरुकै भएको पुष्टी भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका ५ स्थित कर्मप्राप्ति माध्यामिक विद्यालयमा मद्यपानसहित शिक्षकहरुले रमाइलो गरिएको पाइएको हो । विद्यालयमा  आयोजना गरिएको बियर पार्टीमा केही स्थानीय अग्रज व्यक्ति र नेताहरु समेत सामेल थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद देवकोटासहित अधिकांश शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल सिंगार र नेकपा नेता दल बहादुर वाइबा समेत सामेल थिए । उक्त बियर पार्टीको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

खास भएको के हो ?

कुनै होटलमा गरिएको रमाईलो पार्टीको जस्तो फोटो विद्यालयको भनेर सार्वजनिक भएपछि हामीले सोही विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद देवकोटासँग वास्तविकता बुझ्ने कोसिस गर्यौ । देवकोटाले फोटो वास्तविक भएको र संयोगवश गल्ती हुन पुगेको स्विकार गरे ।

उनले ४२ बर्षदेखि विद्यालयमा अध्यापनरत शिक्षक सूर्यकान्त ठाकुरको बिदाई कार्यक्रम आयोजना गरिएको बताए । विद्यालय समयपछि कार्यक्रम आयोजना गरिएको र पढाईलाई कुनै असर नगरेको बताउँदै देवकोटाले भने, “बिदा भएर जान लाग्नुभएका शिक्षकले नै कार्यक्रम राख्नु भएको हो ।” उनले यसअघि विद्यालयमा यस्तो गतिविधि कहिल्यै नभएको र अबको दिनमा पनि यस्तो नहुने बताउँदै विद्यालयमा आएर अरु वास्तविकता पनि बुझिदिन अनुरोध गरे ।

कारवाही गर्न आधिकारीक उजुरी चाहिन्छ : वडाध्यक्ष

विद्यालयमा बियर पार्टी आयोजना हुनु भन्दा पनि अर्काे विडम्वना देखिन्छ बकैया गाउँपालिका ५ वडा कार्यालयको कार्यशैली । उक्त गाउँपालिकाको वडा नम्वर ५ ले गत जेठ १८ गते एउटा सार्वजनिक सूचना जारी गरेको थियो । ४ बुँदे सूचनामा जुवा तास, क्यारेम्बोर्ड खेल्न नपाउनेदेखि सार्वजनिक स्थलमा धुपमान, मद्यपान निषेध र हो हल्ला गर्न नपाउने समेतका कुराहरु उल्लेख छ ।

यदि उक्त सूचना पालना नगरेमा एक हजारदेखि १० हजार रुपैंयासम्म जरिवाना र स्थानीय निकायको सूविधा रोक्ने उल्लेख छ ।

विद्यालयमा बियर पार्टी भएको कुरा वडाध्यक्ष शेरमान घलान पनि स्विकार्छन् । तर, बिद्यालयले आफ्नै सूचनाको उलंघन गरेको थाहा पाएर पनि उनले केही कारवाहीको प्रक्रिया चालेका छैनन् । आफूले थाहा पाए पनि आधिकारिक उजुरीबिना कारवाही गर्न नमिल्ने बताउँदै उनले भने “कसैले उजुरी गरे हामी कारवाही गर्छाै ।”

सम्बन्धित समाचारहरु

ताजा समाचार