अतिक्रमण गरिएका पशुपतिको सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले

अतिक्रमण गरिएका पशुपतिको सबै जग्गा फिर्ता ल्याउछौँ : मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन्।

२०७२ सालको भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनर्निर्माणका लागि मंगलबार शुभारम्भ गर्दै मन्त्री आलेले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता व्यक्त गरे। मन्त्री आलेले भने, 'सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु।'

राणा प्रधानमन्त्री जङ्गबहादुरका पालमा निर्माण भएको विश्वरुपा मन्दिर वि.सं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनर्निर्माण हुने उनले बताए। अरुभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनर्निर्माण भए यहाँ थुप्रै धार्मिक पर्यटकहरु भित्रिने हुँदा चाँडो निर्माण गर्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गरे। 'चार धाममध्ये पशुपतिनाथ एक धाम हो, त्यसैमा अझ विश्वरुपा मन्दिर पुनर्निर्माण भए भक्तजन तथा पर्यटकहरू थप भित्रिने छन्', उनले भने।

४५ करोडको लागतमा निर्माण हुन लागेको ऐतिहासिक उक्त मन्दिर आगामी दुई वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख  छ।

Logo