“अनलाइन श्राद्धको नाममा ‘विजनेश’ हुन थाल्यो, जुन एकदमै निन्दनीय कुरा हो”- सुशिल भण्डारी, ज्योतिष

“अनलाइन श्राद्धको नाममा ‘विजनेश’ हुन थाल्यो, जुन एकदमै निन्दनीय कुरा हो”- सुशिल भण्डारी, ज्योतिष


हरेक वर्षको आश्विन कृष्ण पक्ष वा पितृपक्षलाई चलनचल्तीको भाषामा सोह्र श्राद्ध भन्ने गरिन्छ। श्रद्दाका साथ पितृहरुको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, यात्रा श्राद्ध, पुष्टि श्राद्ध, काम्य श्राद्ध साथसाथै सोह्र श्राद्ध नेपाली सनातन हिन्दु धर्ममा चलि आईरहेको छ।

घरमै ब्रह्माण् बोलाएर विधिवत् रुपमा मनाईने श्राद्ध यसपटक कोरोनाले गर्दा डिजिटल विधिमा गरिने कुरा पनि आईरहेको छ। यहि सोह्र श्राद्द र यसका भित्री तथ्यका साथसाथै यो कोरोनाको जटिल समयमा कसरी गर्न सकिन्छ त ? प्रस्तुत छ, यहि विषयवस्तुमा रहेर युवा ज्योतिष सुशिल भण्डारीसङ्ग गरिएको कुराकानी :

श्राद्ध के हो  ? यो किन गरिन्छ ? 

सनातन हिन्दु धर्म मान्ने व्यक्तिहरुमा देहान्त भएका पितृहरुलाई, उनीहरूको देहान्त भएको तिथिका दिन पिण्डदान र ब्राह्मण भोजन लगायतका कर्म गर्नु नै श्राद्ध भन्ने बुझिन्छ।

‘श्राद्धात्परतरं नान्यच्छ्रेयस्करमुदाहृतम्’

श्राद्ध भन्दा ठूलो  कल्याणकारी कर्म अरु कुनै छैनन्। जसले पितृ देवता , ब्राह्मण र अग्निको पुजा गर्दछ , उसले भगवान विष्णुकै पुजा गरिरहेका हुन्छन भनेर यमस्मृतिमा बताइएको छ!

प्रेतं पितृश्च निर्द्दिश्य भोज्यं यत्प्रियमात्मन:, श्रध्दया दीयते यत्र तच्छ्राध्दं परिकीर्तितम्। 

अर्थात श्रद्दा र प्रेम पुर्वक अन्न/ भोजन जुन कुरा दिइन्छ त्यसैलाई श्राद्ध भनिन्छ।

श्राद्ध पुर्वक शक्ति अनुसार श्राद्ध गर्दा सो कुलमा सुख आउँछ र संसारलाई नै तृप्ति प्रदान गर्दछ। त्यसकारण झन् यस्तो महामारीमा त श्राद्ध गर्ने व्यक्तिलाई संसारको  माहामारी नाशका निमित्त यो महालय श्राद्ध एउटा अवसर हो।

नित्यश्राद्ध, नैमित्तिकश्राद्ध(एकोद्दिष्ट),काम्यश्राद्ध,वृद्धि श्राद्ध(आभ्युदयिक),सपिण्डन श्राद्ध,पार्वण श्राद्ध(सोर्ह श्राद्ध) ,गोष्ठि श्राद्ध, शुद्धि श्राद्ध, कर्मागं श्राद्ध,यात्रा श्राद्ध,पुष्ठि श्राद्ध, गरि जम्मा १२ प्रकारका श्राद्ध हुन्छन् भनि विस्वामित्रले वताएका छन्।

सामान्यतया मृत्यु भएको १२ दिनमा सपिण्डन श्राद्ध,प्रत्येकवर्ष गरिने एकोद्दिष्ट श्राद्ध ,विवाह व्रतवन्ध पुर्व गरिने आभ्युदयिक श्राद्ध र यो आश्विनकृष्णपक्षमा गरिने महालय श्राद्ध(सोर्ह श्राद्ध) जनमानसमा प्रचलित रहेका छन्!  तसर्थ सवै दिवंगत पितृहरुको सम्मान गर्दै श्राद्ध गर्नुपर्दछ। परापुर्वकाल देखि यहि चलिआएको देखिन्छ।

सोह्र श्राद्धको सुरुवात चाहिँ कसरी भयो ?

कहाँबाट कहिले कसरी सुरु भयो त ठ्याक्कै कतै भेटिएको छैन तर धर्मग्रन्थहरुमा वर्णन गरिएका आधारमा भगवानका अवतार राजा ऋषिमुनिहरुले पनि परापुर्व युगमा श्राद्द गरेको अनुसन्धानहरुमा भेटिन्छ । कति उदाहरण त पितृहरु दु:खी भएको अवस्थामा गया श्राद्द गरेको, गीता वेद पढेको प्रशस्त भेट्न सकिन्छ।

हाम्रो सनातन धर्ममा जन्मपुर्व गर्भाधान आदि संस्कार भैसकेको हुन्छ। यहि क्रमले शोडष संस्कार हुन्छन्। र, मृत्यु भैसकेपछि पनि विभिन्न १३ दिनको संस्कार मासिक हुँदै वार्षिक श्राद्ध हुने गर्दछ। शास्त्रले मान्छेलाई एउटा कानुनको दायरामा ल्याउनेभएको हुँदा, सृष्टिपुर्व नै भगवानले वेदमा  पितृ उपासना गर्ने नियम बताउनु भयो र श्राद्द जस्ता कर्मकाण्ड पनि त्यहीँ बाट सुरु हुन गएको बुझ्न सकिन्छ। वेदकै वचनलाई आधार बनाएर हेर्ने हो भनेपनि, सोह्र श्राद्ध र अन्य अरु श्राद्दपनि परापुर्वकालदेखि चलिआएको मान्न सकिन्छ।

पितृ श्राद्ध अरु समयमा गरिन्छ। अरुबेला गरिसक्दा सोह्र श्राद्धमा पनि गर्नुपर्ने चाहिँ किन ?

कस्तो हो भने, एउटै मुख्य पितृलाई लक्षित गरेर उहाँकै  मृत्यु तिथीमा गरिने र एउटा मात्र पिण्ड दिइने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो। यो श्राद्ध जहिले तिथी हुन्छ त्यसै दिन गरिन्छ तर वुवा,हजुरवुवा,जिजुवुवा सपत्नि सहितलाई तिनवटा पिण्ड र मावलको हजुरवुवा, जिजुवुवा र कुप्रावुवालाई  सपत्नि सहित तिनवटा पिण्ड लक्षित गरेर गरिने श्राद्ध चै अहिलेको सोह्र श्राद्ध हो। यसमा सबै पितृहरुलाई लक्षित गरेर आश्विनपितृ पक्षमा श्राद्ध गर्नु पर्दछ। वैज्ञानिक दृष्टिकोणमा पनि आश्विनमा कन्याराशिमा सुर्य भएका वखतमा यहॉवाट पितृलोक नजिकै हुन्छन तसर्थ दिएका जल तर्पण आदि सजिलै प्राप्त हुनेहुँदा सोह्र श्राद्ध गर्नुपर्दछ।

सोह्र श्राद्धका खास विधिहरु के के हुन् ? हिजो गरिएका विधिहरु र आज आएका विधिहरुमा के कस्ता परिवर्तन  भेटिन्छन?

नेपाल जस्तो देवभूमिमा बसेर विधिपुर्वक श्राद्ध गरिएन भने पितृ दुखित भएर हाम्रो जीवनमा सताउँछन् भन्ने धार्मिक मान्यता छ। तसर्थ, आनन्द मनले विधिवत् रुपले श्राद्द गर्नुपर्दछ। श्राद्ध गर्दा सबैभन्दा पहिले त शुद्दतामा ध्यान पुराउन आवश्यक छ। हुन त शास्त्रहरुमा मांसपिण्ड दिएका प्रमाण पनि भेट्न  सकिन्छ तर कलियुगमा भने यो ग्राह्य छैन तसर्थ कलियुगिय अनुसारले कर्ताले ७ दिन पुर्व मांस त्यागेर शुद्दतालाई  धारण गर्नुपर्दछ।

(मंसभक्षण र श्राद्ध सम्बन्धी  भिन्न-भिन्न शास्त्रमा भिन्न-भिन्न मत देखिन्छ) त्यसैले यस विषयमा धेरै चर्चा नगरौ। शुद्द हुने, श्राद्धको अघिल्लो दिन मुन्डन गरेर, जनै फेरेर एकछाक खाने (एकछिकी वा एकभक्ति वस्ने) , व्राहमण निमन्त्रणा गर्ने , श्राद्ध गर्ने ठाउँ  सफा बनाउने, गहँत (दुध,दहि,घ्यु,गहुत,गोवर मिसाइएको) छर्कने र गोबरले लिपेर शुद्द बनाईएको ठाउँमा  गोदान गरेर तर्पण गरेपछि श्राद्ध आरम्भ गर्नुपर्दछ।व्राहमण निमन्त्रणा,पादार्घ ( पाउपखाल्ने) हस्तार्घ(हातधोइदिने) र व्राम्हण भोजन गराइसकेपछि पिण्ड दिने र पिण्ड पुजा गर्नुपर्दछ। तर देश काल परिस्थिति अनुसार शुद्द भएर जहाँ जे सम्भव छ तेसै अनुरुप श्राद्ध गर्ने प्रचलन रहि आएको छ।

पहिले र अहिलेमा भने धेरै अन्तर देख्न सकिन्छ । बढ्दो शहरीकरणले गर्दा आजभोलि शुद्द गाईको  दुध पाईदैन । शुद्द माटो भएको भूमि लेपन गर्नुपर्ने अवस्थामा प्लास्टर गरेका घरहरु हुन्छन् । कति ठाउँमा त छतमा (अन्तरिक्ष)गर्नुपर्ने वाध्यता छ जुन पितृलाई ग्राह्य छैन। कति मानिसले श्राद्धको महत्व नबुझेर श्राद्ध त हो नि भनेर शुद्दाशुद्दिलाइ ध्यान नदिएको पनि देखिन्छ । कतिपयले त कपाल नकाटी श्राद्ध गरेको पनि देखिन्छ जुन एकदमै अस्वीकार्य रहेको छ।

श्राद्धमा मुख्य मानिने पिण्डदानको महत्व के छ?

पिण्ड भन्नाले पितृको स्वरुप हो, व्राहमण (भान्जा,भान्जी अन्य व्राह्मण)भोजन पश्चात् पिण्डदान गर्नुपर्दछ । वायु पुराण अनुसार पत्निले मह,घ्यु,तिल सहित गाईको दुधमा पकाईएको चामलको पिण्ड पितृ स्वरुप जानेर तयार गरेर पतिले बालुवामा बनाईएको वेदिमा  पिण्ड दिइन्छ।

धुम्रऋषिको मत अनुसार सोह्र श्राद्धमा पिण्डको आकार अमला, वयर जत्रा  हुनुपर्दछ। तर एकोद्विष्ट्मा बेल र मासिक र वार्षिक श्राद्धमा नरिवल जत्रा पिण्ड दिनुपर्दछ।

पितृको स्वरुप पिण्डमा तिल, अन्न ,जल,धूप,दीप,दुध,मह,घिउ गरि ८ अंग पुर्याएर पितृको पुजा वस्त्र जनै पान,नैवेद्य,फल आदिले सुर्यसमान तेजिलो स्थानमा तेज सहित पितृलाई सम्झिएर कर्म गर्नु पर्दछ । पिण्ड जति बाटुलो र चिल्लो हुन्छ सन्तान उतिनै राम्रा हुन्छन भन्ने शास्त्रीय मत रहेका छन। तसर्थ सन्तान, बुद्दि ,विद्या,धन र श्रद्दाको वृद्दि होस् र  पितृ प्रसन्न हुन्  भनेर दिईने पिण्ड भएकोले पिण्ड र पिण्डदानको सोह्र श्राद्दमा आवश्यक महत्व छ।

हामीले गर्दै आएका धेरै धार्मिक कर्मकाण्डको वैज्ञानिक मान्यता पनि उत्ति नै भेटिन्छन्। श्रद्धको पनि कुनै वैज्ञानिक मान्यता या कारण भेटिन्छ त ?

देह मरेपनि आत्मा मर्दैन भनेर विभिन्न शाष्त्रमा उल्लेख छ। वैज्ञानिक तवरबाट पनि हेर्ने हो भने आत्मा या आत्माको शक्ति  रहिरहनुलाई कन्सर्भेसन अफ सौल ( Conservation of Soul) वा कन्सर्भेटिभ इनर्जी अफ सौल (Conservative Energy of Soul) भन्ने गरिन्छ। यसले पनि यो बताउछ कि शरीर त्याग भएपनि मान्छेको आत्माको शक्ति यतै कतै विभिन्न माध्यममा संचित भैरहेको हुन्छ। हामीले श्राद्द गर्ने भनेको नै पितृको आत्माको सुखको लागि हो। त्यसैले वैज्ञानिक तवरले पनि श्रद्ध  गर्नु शान्तिपुर्ण र सिद्द मानिन्छ।

अरू धर्ममा पनि मृत्युपछि यस्तै काजकिरिया होला, त्यो भन्दा सनातन धर्मको श्रद्धमा के फरक छ?

त्यसरी पुरै दाँज्न त अलि मिल्दैन होला  तर सबै धर्ममा आ-आफ्नो तरिका भेटिन्छ। मुस्लिम समुदायमा मोल्वि(धर्मगुरु) आएर मृत्युपस्चात कुरान पढ्ने तथा प्रत्येक वर्ष रमजान र वकर ईदमा दिवङ्गत  पितृहरुको नाममा कपडा र आवश्यक सामाग्री द्रव्य दान गरेको पाईन्छ। त्यस्तै ईसाई संस्कारमा पनि मृत्युपश्चात दिवङ्गतको चिर शान्तिको कामनामा पास्टरहरुलाइ दान गरेको देख्न सकिन्छ । तर सनातन धर्ममा भने अलिक भिन्न छ । सनातन धर्ममा पितृहरु आफुले जति गरे सन्तानबाट पनि त्यति नै चाहान्छन्। तसर्थ प्रत्येक वर्ष श्राद्ध गर्नै पर्दछ।र यसैमा गर्व गर्नुपर्दछ। सनातन धर्ममा अरु धर्ममा भन्दा कठिन चाहिँ छ। कठिन भएपनि श्राद्द जस्ता कर्मकाण्ड गर्नु आवश्यक छ।

कोरोनाको यो जटिल समयमा कसरी गर्ने त ?

अहिले अनलाईन श्रद्ध  गर्ने कुरापनि आईरहेको छ। यदि कसैले श्रद्दा पुर्वक अनलाइन त के मनैबाट गरेको हरेक कुराको फल अवस्य पाइन्छ। पितृलाई शुद्द भएर सम्झिए मात्र पनि राम्रो हो। त्यसमा विमति छैन। तर जुनरुपमा अनलाइन श्राद्ध भनियो त्यो हल्ला धेरै भयो। अनलाइन श्राद्धलाई व्यापारको रुपमा दक्षिणा नै तोकेर फोटो सहित आएका पनि धेरै भेटिए जुन एकदमै निन्दनीय कुरा रहेको छ।

सबैभन्दा राम्रो भनेको व्राहमणको मुखवाट नै वचन मिलाएर श्राद्ध २ मिटरको दुरिमा रहेर गराउनु उत्तम हुन्छ  । भएन भने , अहिले नगरेर सोर्ह श्राद्धपछिको अष्टमी द्वादशी औँसी मङ्सिर सम्म गर्न सकिन्छ। त्यो पनि भएन भने मात्र अन्य विधि र उपायमा जाने हो ।

अनलाइन भन्दा पनि उचित सुरक्षा अप्नाएर व्राह्मण बोलाएरै गर्नु पर्छ भन्नेमा मेरो जोड हो। कर्मको लोप गर्नु हुँदैन आपसी समझदारीमा कर्म गरौ, अनलाइन गरौं, या त भौतिक दुरी कायम गरेर गरौँ तर सकेसम्म चै गरौं ।

Logo