बजेटमा उद्योगलाई पक्षपात गरेको भन्दै पूर्वका व्यवसायीले घोषणा गरे हड्ताल

बजेटमा उद्योगलाई पक्षपात गरेको भन्दै पूर्वका व्यवसायीले घोषणा गरे हड्ताल


अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ मा प्रस्तुत बजेट भाषणबाट नेपालका स्यानिटरी प्याड, घिउतेल र एमएस वायरमा आधारित गरी तीन प्रकारका उद्योग बन्द हुने भन्दै मोरङका तीन प्रमुख व्यावसायिक संस्था आन्दोलनमा उत्रिएका छन्।

सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा ल्याइएको प्रावधानले सेनिटरी प्याड, घिउतेल र वायर उद्योग बन्द हुने पूर्वका उद्योगीहरुको गुनासो छ। बजेटमा प्रस्तुत राजस्व संरचनाले नेपालका तीन वटै किसिमका साना ठूला गरी २ सयभन्दा बढी उद्योग बन्द हुने जिकिर गर्दै नीतिगत सुधारको मागका साथ व्यावसायिक संस्थाले आन्दोलन सुरु गरेका हुन्।

प्रदेश नम्बर १ का मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसंघ (सिएनआई)ले आन्दोलनको घोषणा गरेका हुन्। तीन वटै संस्थाले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्रदेश नम्बर १ का उद्योगमन्त्री प्रतापप्रकाश हाङ्गामलाई ज्ञापनपत्र दिएका छन्। ज्ञापनपत्र बुझाउन व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठनका सुयश प्याकुरेल र सिएनआईका भीम घिमिरे सहित अन्य सम्बन्धित उद्योगी व्यापारी पुगेका थिए।

ज्ञापनपत्रमा औद्योगिक कच्चापदार्थ एमएस वायर रडको भन्सार महसुल ५ लाई १० प्रतिशत बनाइएको र प्रतिकिलो अन्तःशुल्क २ रुपैयाँ ५० पैसालाई वृद्धि गरेर ४ रुपैयाँ ५० पैसा बनाइएको हुँदा एमएसमा आधारित देशका सबैउद्योग बन्दहुने दाबी गरिएको छ। ज्ञापनपत्रमा एमएसबाट उत्पादन गरिने मुख्य सामग्री जिआई वायर साफ्टा सुविधाअन्तर्गत ६ प्रतिशत भन्सार महसुलमा ल्याउन सकिने हुँदा नेपालका उद्योग सङ्कटमा पर्ने स्पष्ट पारिएको छ। 

त्यस्तै बजेटले बिस्कुट तथा चाउचाउ उद्योगलाई पाम तथा पामोलिन तेलको पैठारी ५ प्रतिशत भन्सार महसुलमा गर्न सुविधा दिएको हुँदा यसबाट देशका तेल उद्योग सङ्कटमा पर्ने दाबी ज्ञापनपत्रमा गरिएको छ। ज्ञापनपत्रमा बजेटले तयारी स्यानिटरी प्याडको पैठारी १ दशमलव ५ प्रतिशत भन्सार महसुलमा गर्न छुट दिएकाले देशका सबै स्यानिटरी प्याड उद्योग बन्द हुने जिकिर गरिएको छ।

संघीय सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमार्फत कतिपय क्षेत्रमा गरिएका अन्तःशुल्क वृद्धिका कारण औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै संशोधनको माग समेत गरेका हुन्। सरकारले आर्थिक वर्ष २०७९- ८० को निनि कार्यक्रममा सेनिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट दिने व्यवस्था गरेको छ। यस्तो व्यवस्थाले खासगरी, सेनेटरी प्याड उद्योग, स्टिल तथा वायर उद्योग, वनस्पति घिउ तथा खाने तेलसँग सम्बन्धित उद्योग प्रभावित बनेको उद्योगीको भनाइ छ।

उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले सरकारले बजेटमा भन्सार महशुल, अन्तःशुल्कमा बृद्धि गर्दा सेनेटरी प्याड उद्योग, स्टिल तथा वायर उद्योग, वनस्पति घिउ तथा तेलका उद्योग बढी प्रभावित भएको बताए। उनले भने, 'स्टिल उद्योगमा सरकारले भन्सार महसुल ५ देखि १० प्रतिशत पुर्‍याएको छ। स्टिल तथा वायरमा भन्सार शुल्क वृद्धि हुँदा उद्योगी प्रभावित भएका छन्। अन्तःशुल्कमा २ हजार ५ सयदेखि ४ हजार ५ सय प्रतिटन कायम गरिएको र यसले उद्योग सञ्चालनमा समस्या हुने प्याकुरेलले बताए। 

त्यसैगरी, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजेटले स्टिल वायर, घिउतेल तथा सेनेटेरी प्याडको उद्योग प्रभावित भएको बताउँदै वनस्पति घिउ तथा तेलको कच्चापदार्थमा १० देखि १५ प्रतिशत महसुल लाग्दै आएकोमा सरकारको अहिलेको निर्णयले वनस्पति घिउतेलका उद्योगहरू मर्कामा परेको बताए । सरकारको अहिलेको बजेटले परनिर्भरतालाई प्रश्रय दिने देखिएको भन्दै उनले कच्चा पदार्थ तथा उत्पादित वस्तुबीचको एक तहको भन्सार महशुल कायम राख्नुपर्ने जिकिर गरे। नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले सरकारको बजेटले उद्योगी ब्यवसायी निरास भएको चर्चा गर्दै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगलाई समस्या परेको सुनाए।

कार्यक्रममा दिइएको जानकारीअनुसार हाल ३५ देखि ४० वटा सेनेटेरी प्याड उत्पादन उद्योगमा ६ अर्बभन्दा धेरै लगानी छ। ती उद्योगमा ६ हजारभन्दा धेरैले रोजगारी पाएका छन् ।

Logo