औसतभन्दा धेरै वर्षा हुने भए पनि विपद् व्यवस्थापनमा सरकारको तयारी पुगेन

औसतभन्दा धेरै वर्षा हुने भए पनि विपद् व्यवस्थापनमा सरकारको तयारी पुगेन


यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै मौसमविद्हरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसवर्षको मनसुनजन्य विपद्‍बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन्। नेपालमा यस वर्ष १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिसकेको छ। जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन्। प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट यस वर्ष पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरूको आँकलन छ। 

त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरूको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पुर्‍याउनुपर्ने बताइन्। बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताउँदै सचेतक भुसालले विगतका घटनाहरूबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताइन्। 

सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो। ‘सरकारले बाढी आउने ठाउँका बसोवासहरूलाई अन्यत्र सारेर भएपनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यस्तै खेती, बालिहरूलाई नोक्सान हुन नदिनका लागि पनि सरकारले विभिन्न किसिमका राहतका कार्यक्रमहरू किसान समक्ष पुर्‍याउनुपर्ने अवस्था पनि हुन्छ', उनले भनिन्, 'कतिपय पहिरोले घरहरू पुरिएर बिस्थापित हुनुपर्ने अवस्थाहरू छ। त्यसको तथ्याङ्कहरू र विगतको घटनाहरूलाई लिँदै आएर त्यो घटनाहरू फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रूपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनुपर्छ। तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउनका लागि पनि विशेष बजेटको व्यवस्थाहरू गर्नुपर्ने हुन्छ।’

यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताए। मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुनेगरि पूर्वतयारीमा जुट्नुपर्ने उनको भनाई थियो। घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उनले भनाई थियो। ‘विपद् व्यवस्थापन प्राधिकरण नै छ सरकारको मातहतमा। त्यसो हुँदा तयारी गरेको होला भन्ने हो', उनले भने 'सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ। तयारी आफ्नो ठाउँमा छ। खासगरी मनसुनबाट हुने क्षति अनुमान नै गर्न सक्दैनौँ। कमभन्दा कम क्षति हुनेगरि तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ।’

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रुपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताए। विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने भन्दै उनले विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने बताए। सरकारले कुनै पूर्वतयारी नगरेको भन्दै सांसद् पाठकले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रुपमा ध्यान दिनुपर्ने बताए। स्थानीय तहले पनि पर्याप्त बजेट विपद् व्यवस्थापन र पूर्वतयारीका लागि छुट्याउनुपर्ने र विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न स्थानीय तहलाई आग्रह गरे। ‘बाढी, पहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हानेर हो। वातावरणीय प्रभावको मूल्यांकन छैन। जतापनि डाँडा कोतरेको छ। जतापनि करेसाबाट बाटो लगेको छ। हिउँदमा करेसाबाट बाटो खनेको छ। वर्षा घर गएको छ। त्यसकारणले यस्ताखालका विकास निर्माणका कामहरुमा पनि हामीले गम्भिरतापूर्वक छलफल गर्नुपर्छ', उनले भने 'डोजरे विकासको अन्त्य गर्ने। सरकारले सचेतना फैलाउने। सरकारले बजेट पर्याप्त विनियोजन गर्ने। सरकारले तत्काल रेस्पोन्स गर्नका लागि रेस्पोन्स टिमहरु गठन गर्ने।'

विपद्को पूर्वतयारीमा सरकार र स्थानीय तहको विशेष ध्यान दिनुपर्ने सांसद पाठकको भनाई छ। 'पूर्वतयारी बिल्कुल देखिदैन। सरकार पूर्वतयारी गर्दैन। स्थानीय तहको बजेटको ७० प्रतिशत बजेट डोजरमा जान्छ। प्रत्येक स्थानीय तहले क्वीक रेस्पोन्सका लागि तयार गर्ने। स्थानीय तहले सामाजिक संघसंस्थाहरुसँग छलफल गर्ने। विपद् व्यवस्थापनका लागि एउटा टिम बनाउनु पर्छ। मेरो आग्रह, स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ। पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस् र त्यसमा बजेट पर्याप्त राख्नुस्।’

त्यस्तै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेस प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताए। विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरूमा बढी पानी पर्ने भन्दै सरकारले त्यसमा पूर्वतयारी थाल्नुपर्ने बताए। उनले हरेक जिल्लामा पूर्व सूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायहरूलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नु नहुने बताए। ‘लामो समयको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले र भारतको मौसम विभागले, दक्षिण एशियाको मौसम विभागले जुन प्रक्षेपण गरेको छ। त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र काठमाडौंबाट पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्र बाहेक र मधेस प्रदेशको केही भूभागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ। यस वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ’, उनले भने। 

विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपत्कालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व तयारी थाल्नुपर्ने समेत बताए। बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकोले त्यसतर्फ सचेत रहनुपर्ने उनको भनाई छ।

Logo