#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32258206984386747503123798789
नेपाल693014531843750411

राजधानीमै नाङगा तारको आतंक, करेन्ट लागेर १ जनाको मृत्यु, २ घाइते

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १७ साउन ।

विद्युत प्राधिकरणको अव्यवस्थित र अवैज्ञानिक तार सञ्जालले गर्दा सार्वजनिक स्थानमा बिजुलीको तारले करेन्ट लागेर काठमाडौंमा १ जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

घटना सोमबार रातीको हो । पानीपोखरीको सडकमा ग्राभेल गर्न गिट्टी बोकेर आएको एउटा टिप्परमा सडकछेउको नांगो तारबाट करेन्ट लाग्दा त्यस्का चालक नवराज माझीको घटनास्थलमै मृत्यु भएको छ । उनी सिन्धुपाल्चोक मेलम्चीका बासिन्दा हुन् ।

बा १ क ११२५ नम्बरको ट्रिपर लिएर माझी राति ११ बजे पानी पोखरी पुगेर त्यहाँ सामान खसालिसकेर माथि उठाइएको डालासहित अगाडि बढ्न खोज्दा नांगो तारले छोएको थियो । तारले छोइएपछि ट्रिपरको पछाडिको टायरमा आगो लागेको थियो र करेन्टको झड्काले सिटमा बसेका माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका सहचालक रामबहादुर तामाङको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी मंगलबार बिहान काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा हिडिँरहेका एक युवालाई करेन्ट लागेर उनी घाइते भएका छन् । सडक पेटीबाट हिँड्दै गर्दा रामेछाप २ घर भएका राजु लामा करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

सडकमा हिँडिरहेका बेला बिजुलीको पोलका करेन्ट सर्ट भइ झिल्का देखिएको र सोही बेला पोलमुनि पुगेका लामालाई करेन्ट लागेको हो । लामाका दुइवटै खुट्टा जलेका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंका सडक किनारका पोलहरुमा जथाभावि टाँगिएका तारमा सट हुने र आगो लाग्ने घटनाहरु सामान्य जस्तै भएका छन् । तर, सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । केही दिन अघि नयाँबानेश्वर, अनामनगर लगायतका क्षेत्रमा पनि पोलहरुमा करेन्ट सट भएर आगो लागेको थियो ।

यसैबीच उदयपुरको त्रियुगा नगरपालिका ९ मा पनि मंगलबार ११ हजार भोल्टको करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारी त्रियुगा ३ का ३९ वर्षीय डोमी चौधरी गम्भीर घाइते भएको समाचार छ ।

 

सम्बन्धित समाचारहरु