नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण


नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एशोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगंज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरूको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ । 

आज जेठ २७ गते शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरू सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरूको समस्यासँग जुध्न र उहाँहरूको क्षमता अभिवृद्धि गर्न लागि परेको बताए । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायीक कार्यक्षमता विकास आवश्यक रहेको बताए ।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरूले भन्सारमा अपनाउनुपर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।

त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिए । कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन गरेको बताउँदै उनले यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै सबैलाई यसको विषयमा जानकारी रहनुपर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुपमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले कर छलीमा राजश्व अनुसन्धानले शून्य सहनसिलताको नीति अपनाउने बताए । 

त्यसैगरी लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरूको वृत्ति विकासमा ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरूलाई अन्य कार्यक्रमहरू पनि संचालन गर्ने बताए । 

उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकमा चार्टर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए । कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, सदस्य मुना श्रेष्ठको सहभागीता थियो । 

Logo