नेपालमा कोरोना संक्रमित १६ ‘हाइप्रोफाइल’ : वरिष्ठ चिकित्सकदेखि मन्त्रीसम्म (भिडियाेसहित)

नेपालमा कोरोना संक्रमित १६ ‘हाइप्रोफाइल’ : वरिष्ठ चिकित्सकदेखि मन्त्रीसम्म (भिडियाेसहित)


काठमाडौं ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ। नेपालमा दोस्रो कोरोना पोजेटिभ केश देखा पर्नासाथ सरकारले यसको रोकथामको लागि गत चैत ११ गतेबाट चार महिनासम्म देशभर लकडाउन घोषणा गरेको थियो ।

यस अवधिमा लकडाउनले सर्वसाधारणको दैनिकी कष्टकर बनेकाले अरू विकल्प खोज्नुपर्ने आवाज उठ्यो । अन्ततः सरकारले साउन पहिलो हप्तामा लकडाउनको अन्त्य गर्याे तर यहि लकडाउन अन्त्यसगै मानिसहरुको चहलपहल पनि बढ्दै गयो त्यसैले कोरोना संक्रमण दर पनि बढ्दै गएको छ।

यसरी सर्वसाधारण तथा विदेशबाट नेपालमा आउने नागरिकहरुमा मात्रै संक्रमण देखिदै आएकोमा करिव एक महिनादेखि प्राय ठूलो भीडभाडमा नपुग्ने र सुरक्षा घेरामा रहने ‘भीआइपी’हरूमा पनि देखिन थालेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ। जसमध्ये २३ हजार २९० जना निको भएर घर फर्केका छन् भने २५१ जनाको मुत्यु भएको छ। कोरोना संक्रमित हुनेमा सर्वसाधारणदेखि सांसद, उधोगी, संवैधानिक निकायका प्रमुखदेखि पूर्वमन्त्रीसम्म रहेका छन्।

हालसम्म प्रतिनिधिसभाका सांसद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, न्यायाधिस, प्रदेशका मन्त्री, सांसद तथा उपपसभामुख, नगरप्रमुख लगायतका हाइप्रोफाइल व्यक्तिहरु कोरोना संक्रमित भएका छन् ।

१. सांसद प्रदीप यादव

पर्सा क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको थियो । सांसद यादवलाई साउन १७ गते संक्रमित भएको पुष्टि भएको थियो । वीरगञ्जमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनी संक्रमित भएको अनुमान गरिएको छ। १२ दिनको आइसोलेसन बसाइपछि उनी कोरोना संक्रमणमुक्त भएका थिए।

२. अख्तियार प्रमुख नवीनकुमार घिमिरे

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमण भयो। घिमिरेलाई साउन २७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उनी अख्तियारको क्वार्टरमा आइसोलेन बसेका थिए । अहिले उनको रिपोर्ट नेगेटिभ आएकाले काममा फर्कने तयारीमा छन्। उनी पहिलो पटक कोरोना संक्रमित सांसद भन्दा पनि ‘हाइ प्रोफाइल’ व्यक्ति हुन् । उनीसहित अख्तियारका दर्जनौ कर्मचारीमा पनि कोरोना पोजिटिभ पाइएको थियो ।

३. उद्योगी एवं सांसद विनोद चौधरी

गत शुक्रबार उद्योगी एवं नेपाली कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार दिउँसो ट्वीट गर्दै सांसद एवं उद्योगी चौधरीले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।विनोद चौधरीका छोरा एवं चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उनमा कुनै किसिमको लक्षण भने नदेखिएको जानकारी दिएका छन् । उनले केन्द्रबिन्दु अनलाइनसँग कुरा गर्दै भने–‘संक्रमण पुष्टि भएपनि उहाँमा कुनै लक्षण भने देखिएको छैन ।’ यसरी संक्रमित हुने उनी तेस्रा सांसद् हुन्। यसअघि दुई सांसद कोरोना संक्रमित भएका थिए।

४. सांसद डा. सूर्यनारायाण यादव

त्यस्तै, सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा सूर्यनारायाण यादव साउन ३० गते कोरोना संक्रमित भएका थिए । चिकित्सकसमेत रहेका सांसद यादव झाडापखाला लागेर गम्भीर अवस्थामा आएका एक बालिकाको उपचारका क्रममा संक्रमित भएको आशंका गरिएको छ। नियमित बिरामी जाँच्न छोडेपनि गम्भीर बिरामी आउँदा उनले हेर्ने गरेकाले बालिका गम्भीर रुपमा मेडिकलमा आएपछि उनले हेरेका थिए। हाल उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

५. सांसद यज्ञबहादुर बोगटी

अछाम २ बाट निर्वाचित सांसद यज्ञबहादुर बोगटीलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । निर्वाचन क्षेत्र गएर आएको र नेकपा महासचिव विष्णु पौडेलको सचिवालयमा कोरोना देखिएपछि उनले स्वाब दिएका थिए।शुरुमा प्रयोगशालाले नेगेटिभ रिर्पोट दिएपनि पछि पोजेटिभ आएको खबर पाएका थिए। हाल उनी कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्रको आइसोलेनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

६. संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डे

त्यस्तै, संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना सङत्रमण भएर निको भईसकेका छन् । पाण्डे सांसद प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोलीमा संलग्न भएकाले कोरोना पुष्टि भएको थियोे ।

७. प्रदेश २ का आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव

यता कोरोना संक्रमणको जोखिम धेरै रहेको प्रदेश २ का आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव साउन २३ गते कोरोना संक्रमित भएका थिए । तराईका जिल्लाहरुको भ्रमणका क्रममा उनी संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ । उनी मन्त्रीनिवासमा आइसोलेनमा बसेका थिए। उनी अहिले संक्रमण मुक्त भईसकेका छन ।

८. पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे

त्यस्तै, यस अघि पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे पनि कोरोना संक्रमित भएका थिए । उनमा कोरोनाको लक्षणसमेत देखिएपछि अस्पताल भर्ना गरिएको छ। ११ दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। काभ्रेपलाञ्चोकमै रहँदा उनी संक्रमित भएको आशंका गरिएको छ। उनलाई सास फेर्न समस्या भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखिएको थियो। हाल वादेको स्वास्थ्य सुधारोन्मुख छ।

९. बागमती प्रदेशकी उपसभामुख राधिका तमाङ

त्यस्तै, यता बागमती प्रदेशकी उपसभामुख राधिका तमाङलाई भदौ १ गते कोरोना संक्रमण भएको पुष्टि भयो। उनीसँगै उनका ९ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी निर्वाचन क्षेत्र गएका बेला संक्रमण भएको अनुमान गरिएको छ। उनी बागमती प्रदेशको उपसभामुख निवासमा आइसोलेनमा रहेकी छन्। नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो ।

१०. सांसद जीवनबहादुर शाही

कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही पनि कोरोना संक्रमित भएका थिए । असार ३० गते उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। संक्रमित प्रदेश सांसद शाही कर्णाली प्रदेशको नेपाली कांग्रेसका दलका नेता हुन्। उनी साउन ७ गते कोरोना संक्रमणमुक्त भईसकेका छन ।

११. सांसद रिना यादव

त्यस्तै, प्रदेश २ सी सांसद रिना यादव पनि साउन २३ गते नै संक्रमित भएको पुष्टि भयो। निर्वाचन क्षेत्र जाने क्रममा उनी संक्रमित भएको आशंका गरिएको छ। उनी भदौ ३ गते कोरोना संक्रमणमुक्त भएकी छन्।

१२. वीरगञ्ज महानगरका मेयर विजय सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि काममै क्रममा साउन १५ गते कोरोना संक्रमित भएका थिए । संक्रमित भएपछि उनी काठमाडौंमा आई आइसोलेसन बसेका थिए । उनीसँगै उनका बुबा र ज्वाईं पनि संक्रमित भएका थिए। भदौ ८ गते संक्रमणमुक्त भएर उनी महानगरको काममा फर्केका छन्।

१३. बागमती प्रदेशका सचिव मधुसुदन बुर्लाकोटी

प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशका सचिव मधुसुदन बुर्लाकोटी साउन ३० गते कोरोना संक्रमित भए। होम आइसोलेसनमा बसेको करिब दुई सातापछि उनी भदौ १० गते संक्रमणमुक्त भएका छन्।

पहिलो दिन हल्का शरीर दुखाइबाहेक उनलाई अन्य दिन कुनै पनि लक्षण देखिएन। त्यसैले सावधानी अपनाउँदै होम आइसोलनमा बसेर नै उनी निको भएका छन् ।

१४. जीवन घिमिरे, प्रदेश नं १ का सामाजिक विकासमन्त्री

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति उनलाई सङ्क्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

१५, विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिका मेयर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि गत सोमबार कोरोना संक्रमण पुष्टि भयो । मेयर शाक्य श्रीमतीसहित ग्राण्डी अस्पतालमा जाँच गर्न गएको र पिसिआर परीक्षण गर्दा आफ्नो रिपोर्ट पोजेटिभ देखिएको मेयर शाक्यले केन्द्रबिन्दुलाई जानकारी दिए ।
शाक्यका अनुसार श्रीमतीको भने रिपोर्ट कोरोना नेगेटिभ आएको छ। अहिले कोरोना पोजेटिभ देखाए पनि आफूलाई कुनै पनि लक्षण नदेखिएको र होम आइसोलेसनमा बसिरहेको उनले बताए । उनका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य छ।

१६. डा. भोला रिजाल, वरिष्ठ स्त्री रोग विशेषज्ञ

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तीलाई कोरोना भाइरस संक्रमण भएको छ। डा. रिजाल र उनकी पत्नी डा. सरला घिमिरेमा कोरोना पुष्टि भएको हो। उनीहरू दुवैलाई उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । आफूलाई कोरोना पुष्टि भएको बताउंदै डा. रिजालले कोरोना हुँदैमा कोही पनि आत्तिनु नपर्ने बताएका छन।

अन्य

कोरोना संक्रमणको कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको पुष्टि भएको छ । ७० वर्षीय पूर्वन्यायाधीश चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । चालिसे ५ दिनदेखि गंगालालमा उपचाररत रहेका थिए। उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौं निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मी तथा भान्सेमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै,नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना सुरक्षाकर्मीमा पनि कोरोना देखिसकिएको छ। त्यस्तै,नेकपाकै महासचिव विष्णुप्रसाद पौडेलका सुरक्षार्थमा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना सत्रंmमण देखिएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनीहरु दुबै जना आईसोलेसनमा बसेका छन् ।

यसरी नेपालका हाई प्रोफाईलमा नै कोरोना देखा पर्न थालेकाले कोरोना समुदायस्तरमा नै फैलिएको आंकलन गरिएको छ । तसर्थ अब सर्वसाधारण नागरिक तथा सरकार गम्भीर भएर सचेत र सतर्कता अपनाउन जरुरी भएको छ।

‘हाइप्रोफाइल’लाई कसरी भयो कोरोना ?

पछिल्लो समय कुनै पनि भिडभाड तथा सुरक्षा घेरामा रहेका भिआइपीहरुमा पनि कोरोना संत्रमण देखिनु दुखद भएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन ।

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे सुरक्षा घेरामा तथा भिडभाड भन्दा टाढा रहने भिआइपीमा पनि संत्रमण देखिनुको मुख्य कारण उनीहरुको सवारी चालक तथा सुरक्षाकर्मीबाट सरेको हुनसक्ने बताए । उनका अनुसार उनीहरु सवारी चालक कहाँ जान्छन् र आउछन् त्यसको ख्याल नगर्दा पनि संक्रमण भएको छ । उनले भने, “हाम्रोमा सर्वसाधारण देखि उच्च तहमा रहेकाले पनि स्वास्थ्य मापदण्ड पालना नगरी लापरबाही गरेकाले संक्रमण बढिरहेको छ। ”

त्यस्तै, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पनि उच्च तहमा रहेका व्यक्तिहरुले पनि लापरबाही गरेको संक्रमण भएको बताएका छन् । उनका अनुसार भिआइपीहरुले सवारी चढ्दा सवारीका सिसा बन्द गरेर एसी चलाएर हिड्ने र उनी सवारी चालक तथा अन्य सवारीमा बस्नेलाई संक्रमण हुने भएकाले पनि उनीहरुमा संत्रमण भएको छ । धेरै मानिसहरुसँग भेटघाट गर्ने तर घरमा तथा अफिसमा बन्द एसी कोठा हुने भएकाले दुरी कायम गरेपनि संत्रमण सर्ने उनको भनाइ छ।

Logo