प्रदेश १ को नाम टुंगो लगाउन एमाले र कांग्रेसबिच सहमति

प्रदेश १ को नाम टुंगो लगाउन एमाले र कांग्रेसबिच सहमति


प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले कांग्रेस संसदीय दलसँग छलफल गरेको छ ।

उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् । आजको संसद बैठक सम्पन्न भएपछि प्रदेश १ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारी दिए ।‘कांग्रेस र एमालेबीच यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउन सहमत भएका छौं,’ कार्कीले भने, ‘हामीबीचमा सबै संसदभित्रका राजनीतिक दलसँग र सरकारसँग पछि छलफल गर्न पनि सहमत भएका छौं ।’

यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्की सहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।

Logo