निजगढ विमानस्थलको निर्माण यथाशीघ्र सुरु गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

निजगढ विमानस्थलको निर्माण यथाशीघ्र सुरु गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन


संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।  
समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत अन्य बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी कार्य प्रक्रिया अघि बढाउन समेत समितिले भनेको छ ।
समितिले यो विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन पछि तयारी पारेको प्रतिवेदनमा आधारित रहेर सरोकारवाला निकायबाट आएका सुझाव समेत कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसलापछि आयोजनाको भविष्यबारे अन्योल रहेका बेला समितिले यस्तो प्रतिवेदन पारित गरेको हो । यद्यपि सर्वोच्चको फैसलाको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन ।

Logo