नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स ब्यवसायीलाई प्रशिक्षण

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स ब्यवसायीलाई प्रशिक्षण


नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भयो। 

शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखेका थिए । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायीक कार्यक्षमता विकास आवश्यक रहेको बताए ।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए। उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए। 

त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए। कर छल्ने प्रवृति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने, कर छलीमा राजश्व अनुसन्धानले शून्य सहनशिलताको नीति अपनाउने धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता गरेका लुम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए। 

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चार्टडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए।

कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, सदस्य मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। 

Skip This
Logo