एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न सरकारको निर्देशन

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न सरकारको निर्देशन


काठमाडौं ।

सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएका १४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् ।

मन्त्रालयमा बुधबार नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एयर अरेबियालाई निर्देशन दिएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । एयर अरेबियाले १४२ जनाको पिसिआर गरेको, १८ जनाको आरडिटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सोबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिए।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रितरुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राखेका थिए।रासस

Logo