विश्वविख्यात पाउलो कोएल्होः घरबाट विद्रोह गरेर घुमन्ते लेखक
  • योगेन्द्र तिमिल्सिना

आफ्नै जीवनको कथासँग गाँसेर फूलबुट्टा भर्दै नयाँ नयाँ पात्रहरु सिर्जना गर्दै लेखेर नाम कमाउने घुमन्ते लेखक हुन् – पाउलो कोएल्हो ।

उनको जन्म २४ अगस्त १९४७ मा ब्राजिलको राजधानी रिओ द जेनेरियोमा भएको थियो । उनको बोल्ने भाषा पोर्तुर्गीज हो । द अलकेमिस्ट (२०१४) उनको विश्व प्रसिद्ध संस्मरणात्मक उपन्यास हो ।

कमाउने कुनै बाटो नखोजी केटाकेटी उमेरदेखि नै लेख्ने रहर गर्दा उनकी आमाको खप्की खानु परेपछि कोएल्हो परिवारप्रति नै विद्रोही बने । उनका बाबु विश्व संरचना बुझ्ने र कमाउने इञ्जीनियर थिए । आमाले छोरालाई बाबुको उदाहरण दिन्थिन्, तर कोएल्होलाई यस्तो सुझाव मन पर्दैनथ्यो । परिवारसँग विद्रोह गर्दा उनलाई कति पटक मानसिक अस्पताल पुर्याउनु परेको थियो । २० वर्षको उमेर नपुग्दै मानसिक अस्पतालमा भर्ना भएका कोएल्हो तीन पटक अस्पतालबाट उम्केका थिए ।

धर्म र परम्पराप्रति उनको परिवार कठोर थियो तर उनी बन्धनमुक्त स्वच्छन्द जीवन चाहन्थे । बाबु आमाले मलाई दुःख दिन खोजेको होइन भन्ने महसुस गरेपछि उनले लेखक बन्ने विचार छोडे र बाबु आमाको इच्छा अनुसार कानुनको अध्ययन गर्न थाले । एक वर्षपछि कानुनको अध्ययन पनि छोडी १९६० को दशकमा उनी हिप्पीको समुहमा प्रवेश गरे र लागुऔषधीको सेवन गर्दैे विभिन्न मुलुकहरुको भ्रमणमा निस्के । यस क्रममा उनले उत्तर अमेरिका, मेक्सिको, बोलिभिया, पेरु, चिली, अर्जेन्टिना, युरोप तथा मध्य एशियाका विभिन्न मुलुकहरु हुँदै नेपालको भ्रमण पनि गरिसकेका छन् ।

ब्राजिल फर्केपछि उनी गीत लेख्न थाले । गीतमा प्रस्तुत विषयवस्तुका कारणले कोएल्होलाई टुनामुना गर्ने जादुगरस“ग जोडेर हेरियो । सन् १७७४ मा तत्कालीन सैनिक सरकारले उनलाई प्रतिगामी विचार बोकेर हिड्ने विनाशकारी बामपन्थीको संज्ञा दियो र पक्राउ गर्यो । उनका सिर्जनालाई बामपन्थी विचार बोकेका धंसात्मक गीतहरुको संज्ञा दिइयो ।

उनी लेखक हुनुअधि पत्रकार, कलाकार र नाटक निर्देशक समेत भए ।

सन् १९८० मा उनले कलाकार क्रिस्टिना ओइटिसिकासँग बिहे गरे । बिहेपछि उनीहरुले छ महिना राजधानी शहर रिओ द जेनेरियोमा बिताए भने अर्को छ महिना फ्रान्सको पाएरनीस पहाडको गाउ“मा बिताए । अहिले ती दम्पती स्विटजरल्याण्डको जेनेभामा स्थायी रुपमा बसोबास गर्छन् ।

सन् १९८६ मा उत्तर–पश्चिम स्पेनको सान्टियागोतर्फ जाने ५ सय किलोमिटरभन्दा लामो बाटो पैदल यात्रा गर्दा उनमा एक प्रकारको आध्यात्मिक जागरण प्राप्त भयो । यसले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । यसलाई उनले आफ्नो संस्मरण तिर्थयात्रा (द पिल्ग्रिमेज) भन्ने पुस्तकमा बर्णन गरेका छन् । उनको काम सन्तोषजनक नै थियो । उनकी सहयात्री धर्मपत्नी थिइन्, पर्याप्त धन थियो, नाम चलेकै थियो, तर यतिले पनि उनी सन्तुष्ट हुन सकेनन् । उनको सपना अर्कै थियो । गीत लेखेर पैसा कमाउनु भन्दा पूर्णकालीन लेखक बन्ने उनको लक्ष्य थियो । त्यस गन्तव्यको निम्ति ख्याति कमाई सकेको राम्रो आय आर्जन हुने गीत लेख्ने काम उनले छोडे ।

सन् १९८२ मा उनको पहिलो कृति हेल अर्काभ्स प्रकाशित भयो । यसले पाठकलाई खासै प्रभाव पार्न सकेन । १९८६ मा भूतको व्यावहारिक प्रयोग (द प्राक्टिकल म्यानुअल अफ भाम्पिरिज्म) भन्ने पुस्तक प्रकाशित भयो । यो पुस्तक उनलाई पनि मन परेन । १९८७ मा तिर्थयात्रा (द पिल्ग्रिमेज) प्रकाशित भयो । त्यसपछिको अर्को वर्ष एउटा स्थानीय प्रकाशन गृहबाट उनले द अल्केमिस्ट भन्ने पुस्तक ९०० प्रति छपाए । त्यसपछि त्यो पुस्तक नछाप्ने विचार गरेका थिए, तर १९९४ मा हार्पर कोलिन्सले यसको पुनर्मुद्रण गर्यो । पछि यही पुस्तक अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा बढी बिक्री भयो । भेडा गोठालो सान्टिअगोको रोचक कथालाई लिएर लेखिएको यो उपन्यास उसको विश्व हेर्ने सपनाको सेरोफेरोमा उनिएको छ ।

सान्टिआगो सांसारिक सफलता बुझ्न स्पेनबाट साहसपूर्ण यात्रामा निस्कन्छ र मोरक्को हुँदै इजिप्ट पुग्छ । यस साहसिक यात्राबाट उसले अनेकौ पाठहरु सिक्छ । इजिप्टमा एउटा रसायनशास्त्री योद्धास“गको महत्वपूर्ण भिडन्तमा उसले आफुलाई बुझ्ने मौका पाउँछ । यो युद्धपछि उसले आफुलाई बुझ्छ र एउटा आत्मिक ज्ञान प्राप्त भएको महसुस गर्दछ । कथामा हास्यरसको मिठो प्रयोग भएको छ । नाटकीय द्वन्द्व र मनोवैज्ञानिक गहिराइले गर्दा उपन्यासले दन्त्यकथाले झै मानिसलाई तनावबाट मुक्ति दिलाई सशक्तिकरणको अनुभूति दिलाउछ ।

उनी आस्तिक र परम्परावादी छन्, अदृश्य, रहस्यात्मक र चमत्कारी शक्तिमाथि विश्वास गर्दछन् । एकपटक उनले आफ्नो घर अगाडिको एउटा पसलको झ्यालमा सेतो परेवा बसेको देखे । त्यसलाई शुभ साइत मानी ईश्वरले उनलाई नयाँ पुस्तक लेख्न संकेत गरेको भन्ने विश्वासका साथ उनी उपन्यास लेख्न बसे ।

द अल्केमिस्ट, (१९८८) को प्रकाशनपछि प्रत्येक दुई वर्षमा उनले औसत एउटा उपन्यास लेखे । द पिल्ग्रिमेज (१९८७), द भल्कीरिज (१९९२), हिप्पी (२०१८), उनका आत्म संस्मरणात्मक उपन्यासहरु हुन् । उनका अन्य प्रमुख कृतिहरु यी हन्– ब्रिडा (१९९०), बाई द रिभर पीद्रा आई स्याट डाउन एण्ड वेप्ट (१९९४), फ्रासेस (१९९५), भेरोनिका डिसाइड्स टु डाई (१९९८), एलेभेन मिनट्स (२००३), द जाहिर (२००५), द विच अफ पोर्टोबेल्लो (२००६), द विन्नर स्ट्याण्ड्स अलोन )२००८), द डेभिल एण्ड मिस प्रिम (२००९), अलेफ (२०१०), र एडल्टेरी (२०१४) ।

उनका निबन्ध संग्रह, समाचारपत्रमा स्तम्भको रुपमा प्रकाशित रचनाहरुको संकलन र उपदेशात्मक रचनाहरु पुस्तकाकारमा प्रकाशित छन् । उनका पुस्तकहरु १७० भन्दा बढी मुलुकमा पढिन्छन् तथा ८० भन्दा बढी भाषामा अनूदित छन् ।

उनको उपन्यास अल्केमिस्ट विश्वभर आठ लाखभन्दा बढी प्रति विक्री भैसकेको छ ।उनका उपन्यासमा फिल्महरु पनि बनेका छन् । संयुक्त अधिराज्यको एउटा कम्पनीले २ सय अत्यन्त प्रभावशाली समकालिन लेखकहरुको एउटा सूचीमा उनलाई दुई नम्बरमा राखेको थियो ।

सन् १९९६ मा उनले जेष्ठ नागरिक र बालबालिकाहरुको सहयोगार्थ पाउलो कोएल्हो फाउण्डेशन नामको एउटा संस्था स्थापना गरे । उनी ब्राजिलियन एकेडेमी अफ लेटर्सका सदस्य रहेका छन् । सन् २००७ मा कोएल्हो संयुक्त राष्ट्रसंघका शान्तिदूत समेत भएका थिए ।

क्याथोलिक इशाई परिवारमा जन्मेका कोएल्होलाई एकातिर धर्मको धङ्धङी छ भने अर्कोतिर त्यसतर्फ उनको विश्वास डगमगाएको पनि देखिन्छ । पछिल्ला वर्षहरुमा उनका रचनाहरुमा बढी कृत्रिमता देखिएको र गम्भीर विषयवस्तुबाट अलग भएको भन्ने आरोप पनि उनीमाथि छ । जे होस् कोएल्होका कल्पनाशील र रहस्यात्मक उपन्यासहरुप्रति युवा जमातको आकर्षण देखिएको छ ।

(लेखकको प्रकाशोन्मुख कृति विश्वका विख्यात साहित्यकार बाट)