यी हुन् सुदूरपश्चिम प्रदेश सरकारका बजेटका प्राथमिकताहरु

यी हुन् सुदूरपश्चिम प्रदेश सरकारका बजेटका प्राथमिकताहरु


सुदूरपश्चिम प्रदेश सरकार १ असारमा प्रदेशको बजेट ल्याउन गरी तयारीमा जुटेको छ । बजेटका लागि अन्तिम तयारी गरिरहेको प्रदेश सरकारले केही महत्वकांक्षी योजना ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले ल्याउन लागेका केही महत्वकांक्षी योजना तत्काल पूरा हुने खालका भने हुने छैनन् । चिसापानी-सुगरखाल-पण्डौन-खैराला-खानीडाँडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गको रुपमा विकास गर्ने कार्यक्रम यस पटकको बजेटमा आउनेछ । जुन योजना कार्यान्वयन गर्न वर्षाैँ लाग्ने देखिन्छ । तर, यो योजना सफल भएमा कैलालीमा पर्यटन व्यवसायले उल्लेख्य प्रगति गर्नेछ ।

त्यसैगरी आगामी बजटेमा सुदूरपश्चिमले प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि कार्यक्रम ल्याउनेछ । विगत ५ वर्षदेखि विश्वविद्यालय निर्माणमा जुटेको प्रदेश सरकारले आगामी बजेटमा केही भौतिक प्रगति गर्ने देखिएको छ । प्राविधिक विश्वविद्यालय निर्माण गर्नसकेको खण्डमा भने सुदूरपश्चिममा आर्थिक अभावका कारण बाहिर जान नसक्ने विद्यार्थीका लागि राम्रो अवसर हुनेछ । तर, विश्वविद्यालय सञ्चालनका लागि प्रभावकारी कामको आवश्यकता देखिन्छ । 

सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गर्ने बजेटमा एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयजस्ता कार्यक्रमलाई समेट्ने भएको छ । प्रदेश सरकारले कक्षा १० को अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिने नीति कार्यक्रममा उल्लेख गरेको छ । जुन कुरालाई बजेटमा पनि समावेस गर्ने तयारी गरिएको छ ।

यसैगरी ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालयको भौतिक प्रगति सम्पन्न भइसकेकोमा प्रदेश सरकारले आगामी वर्षदेखि त्यसलाई सञ्चालनमा ल्याउने गरी बजेट कार्यक्रम ल्याउने तयारी गरेको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको महत्वकांक्षी योजनाका रुपमा मोनोरेल सञ्चालन गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानी–अत्तरिया–गड्डाचौकी खण्डलाई चार लेनको बनाउन सम्भाव्यता अध्ययन गर्नेजस्ता कार्यक्रम समावेस गरिएका छन् ।

सुदूरपश्चिम प्रदेशलाई आगामी आवमा संघले ९ अर्ब समानीकरण अनुदान, ६ अर्ब ९८ करोड सशर्त अनुदान, ७९ करोड विषेश अनुदान र ७६ करोड समपूरक अनुदान गरी कुल १७ अर्ब ५५ करोड रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ । जसमा १० अर्ब ९० करोड चालू र ६ अर्ब ६५ करोड पुँजीगत अनुदान छ । चालू आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशको ३० अर्ब ३३ करोड बजेट ल्याएको थियो ।

देशमा संघीय व्यवस्था लागु भएपछि बनेको पहिलो प्रदेश सरकारको अन्तिम बजेटमा धेरै कार्यक्रम भने विगतकै योजनालाई दोहोर्‍याउने गरी आउने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले बताए । 

१ असारमा प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तयारी पूरा भएको उनले बताए । उनका अनुसार प्रदेशको आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउनेछ । जसमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएका छन् । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो । प्रदेश सकरारले पहिलो पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा बाँडफाँट हुने गरी बजेट ल्याउने जनाएको छ । 

Logo