समीक्षाः युद्ध शिविरमा बसेर कविता पढ्दा

उनी जीवनलाई उन्नत र प्रगतिशील मूल्यबाट बिमुख गराउने, मानिसका विरह र वेदनाको सुसेली, सलामी–गुलामी र दासताको भाषा बोल्ने तथा समय सान्दिर्भिकताभन्दा बाहिर गएर युग निरपेक्षतामा मूल्यहीन कविता लेख्ने कविहरूको भिडमा आफू नभएको स्वीकार्छन् ।

‘युद्ध शिविरमा हिडेको मान्छे’ सङ्ग्रहभित्रका उनका सबै कविताले जनाधिकारका विषयमा आवाज उठाएका छन् । दश वर्षे माओबादी जनयुद्धको आरम्भदेखि युद्ध बिरामसम्मका अनगिन्ती दृष्टिकोणहरू कवितामा समेटिएका छन् । सङ्ग्रहभरि कवि कतै योद्धा बनेका छन्, कतै मजदुरका रूपमा पोखिएका छन्, कतै शास्वत प्रेमको छहरा बनेर झरेका छन्, कतै क्रुर शासक बनेर मसीमा बगेका छन् ।

वषौँ अघिको कुरा हो
झ्याम्पे पीपलको रुखबाट ओर्लेर
विषकन्याजस्तो धर्मले
सेता परेवाहरू आकाशमा उडायो
र एक हूल मान्छेहरूले
ज्ञानको मसिनो दियालो निभाएर
शान्ति ! शान्ति ! भन्दै तालि बजाए ..पृ.१३

सङ्ग्रहभित्र रहेको पहिलो कविता ‘शान्तिको बजारशास्त्र’ कविताबाट यी हरफहरू साभार गरिएका हुन् । के शान्ति ताली बजाएर आउँछ ? पीपलको रुखमुनि बस्दैमा आउँछ ? जनयुद्ध दबाएर आउँछ ? यसभित्र कविले अनगिन्ती प्रश्न गरेका छन् । तत्कालीन परिप्रेक्षमा यी प्रश्न गर्नु सान्दर्भिक हुनेछ । भर्खरै जनयुद्ध सुरु गरेताका लेखिएको यस कविताका सन्दर्भहरू निकै तार्किक छन् । विज्ञानको दुरुपयोग गरी शान्ति खोज्नेमाथि प्रश्नको तीर हानिएको छ । परेवा छोड्ने र बाज बनेर झम्टने प्रवृत्तिको भण्डाफोर गरिएको छ । बारुद पड्काएर शान्ति खोज्नेप्रति लक्षित यो पहिलो कविता जनयुद्धलाई दबाउन गरिएको दमकारी नीतिको बिरुद्धको आवाज हो ।

‘समरको नदी’ निकै मार्मिक र गहन भाव बोकेको कविता हो । कवितामा आँगनमा पूर्णिमाको जून खोसिएको सन्दर्भ निकै प्रतिकात्मक छ । कविको चिन्ता छ –जनताको खुसी र अमनचैन खोसिएको छ, माछा मारेर जिवीकोपार्जन गर्ने अर्थात् श्रमजीवी वर्गका जालमा कहिलेसम्म भ्यागुतो हात पर्ने हो ?

अर्थतन्त्रको यो हतासोले
किन बुन्न सक्दैन
एक टुक्रा रोटीको पातलो गुन्द्री…….पृ. १६

राज्य निरङ्कुशताबाट माथि उठ्न नसकेकाले जनताका आँसुका बिस्कुन लागेका बेला कुनै एक मजदुरले जाल फालेर युद्ध रोज्नु स्वभाविक हो, उसले बन्दुक बनेर समरको नदीसँगै बग्ने साहस गरेको छ । अन्यायको दैलो फोर्न उसले युद्ध रोजेको छ । ‘डाइनामाइडको ओछ्यान’ कवितामा शासक फेरिए पनि जनताका आँखामा फूल फुल्न नपाएको भाव अभिव्यक्तिएको छ, प्रजातन्त्र, पञ्चायत, बहुदल जेजे भने पनि आखिर जनताका सपना तुहाउने बाहेक केही नभएकोले एउटा योद्धा काँडा बन्न उत्सुक रहेको तर्क गर्दे कविले गम्भीर भाव व्यक्त गरेका छन् । वन रहनलाई त सल्केको डडेलो निभाउनुपर्छ ; वनफूल फुल्न वन हुनुपर्छ । जनता सरकारले चुस्ने कागती होइन, हाम्रो जवानी चुसेर देउकी नवना भन्दै कविताकी नायिकाले अब आफू अरुले टेक्ने जमिन नभएर आकाश भएको घोषणा गरेकी छे ।

……….आस्थाको शिर झुकाएर
म घोप्टिने छैन..पृ. २३

यस अगाडिको सन्दर्भमा शहरको जङ्गलभित्र भनिएको छ, बिम्बका हिसाबले यसलाई कविताभित्रको उत्कृष्ट नमूना मान्न सकिन्छ । कवितामा अक्करजस्तै समरको पहाड, आगोको नदी जस्ता जटिल बिम्बहरू आएका छन् । ‘उलनियाको उद्घोष’ कवितामा आदिवासी सिमान्तकृत समुदायका विपन्न महिलाको करुण व्यथा उजागर भएको छ ।

पुरुषको प्यालामा, हुक्कामा, कोठीमा भरिनुपर्ने, जीवनको भरोसाबाट टाढा भाग्नुपर्ने बाध्यताको सृजना गर्ने सबै दुष्ट पुरुष हुन्, अविवेकी शासक हो । आफ्ना रहर छेक्ने यी दुष्ट भलादमीहरू, आफ्नो अँगेनामा आगो लुट्ने लुटेराहरूप्रति कवितामा औँला उठाउने साहस गरिएको छ । एउटा व्यक्ति देश हुन सक्छ, देश हो तर शासकले किन सम्झदैन यी कुरा ? आफ्नो स्वतन्त्र भूगोलको लागि आफैँ डटेर उठ्नुपर्छ भन्दै मान्छे भएर उभिनुपर्ने भन्दै कविले साहसको बीऊ छरेका छन् । शोषित वर्गलाई युद्ध अर्थात् बिद्रोह गर्न सिकाएका छन् ।

कविता पढ्दा प्रतिवादबिना अधिकार नपाइने हुँदा अधिकार खोस्नका लागि प्रशिक्षित गरिएको भान हुन्छ । युद्धसँग बिस्तारै सचेत हुँदै गएका जनता सरकारको दमन, बिद्रोहका ज्वाला, आशाका रङ्ग, सपनाको घडी फूल जस्ता प्रतिकात्मक शब्दहरू कविताका साङ्केतिक भाव हुन् । चुनाब जितेर सत्तामा गएपछि आफ्नो पृष्ठभूमि बिर्सने, सरकारमा हुँदा टेकेको धरातल बिर्सने तर सरकार छोड्नेबित्तिकै जनताको दैलोमा पसारिने र जमिनको मालिक बन्न लालायित नेताप्रति व्यङ्ग्य छ । जमिन कहिल्यै जोत्नेको हुन नसकेको, कामै नगरिकन मेरो हो भन्ने प्रवृत्तिले जनताका श्रम मात्र चुसेका छन् भन्ने भाव यस कवितामा रहेको छ ।

‘अन्तिम चोटि’ कवितामा निरङ्कुशतालाई सत्ताको तरबार भन्दै अब यो निरङ्कुशता अन्तिम भएको घोषाण गरिएको छ । जनतालाई झुक्याउने दिन गयो, सत्ताको दुरुपयोग गरेर शिर कुल्चने समय सकियो जनता अब मृत्यु कुल्चेर युद्धमा होमिदै छन् भन्ने सङ्केत गरिएको छ ।

‘भुक्तमानको ऐना’ कवितामा मानिसको जीवनमा द्वन्द अनिवार्य आवश्यकता हो भनिएको छ । मानिसमा आपसी द्वेष, घृणा, प्रतिष्ठाको प्रतिष्पर्धा आदिले मनोवैज्ञानिक रूपमा द्वन्द्वको सिर्जना गरेका हुन्छन् भने विचारलाई मूर्त रूप दिन कहिलेकाहीँ भौतिक द्वन्द्व आवश्यक रहेको कविको तर्क छ । मानसिक रूपमा कमजोर भनिएका जनवर्गीय पक्षलाई सरकारले हेर्ने दृष्टिकोण जनताप्रति उत्तरदायी नहुँदा उनीहरूमा कसरी विचारको ज्वाला दन्किएर द्वन्द्वको सृजना हुन पुग्छ तपशिलका हरफले सङ्केत गरेका छन् ।

अन्तिम चोटि
सत्ताको तरबार नचाएर
रहर पुगुञ्जेल भोग गर, जल्लादहरू हो !
सायद
तृष्णा सेलाउनुभन्दा पहिले नै….पृ. ३३

उनका कविता पढ्दै जाँदा उत्पीडित वर्गको मुखपत्रझैँ लाग्छ । ‘म छापामार हुँ’ कवितामा देश परिवर्तनको संवाहक बनेर उदाइरहेको जून र फुलिरहेको फूलसँग छापामारलाई तुलना गरिएको छ । जुनबेला सरकारले देशद्रोहीका रूपमा छापामारको टाउकाको मूल्य तोकेको थियो यसमा कविले बिद्रोही विचारबाट अग्लेर फूल फुल्ने अपेक्षा गरेका छन् । ‘राष्ट्रवाद’ शीर्षकको कविता गभ्भीर रूपमा देशभक्तिको कुरा उठाइएको छ । उनी कवितामार्फत् यस्तो भाव व्यक्त गर्छन् –शिरमा टोपी लगाउँदैमा राष्ट्रवाद हुँदैन । राष्ट्रियताको नारा मात्रै लगाउँदैमा राष्ट्रवाद हुँदैन । झण्डा बोक्दैमा राष्ट्रवाद हुँदैन । तर जसलाई देशद्रोही भनिरहेका छौँ, ऊ देशप्रेमी हो उसले आफूभन्दा बढी प्रेम देशलाई गर्छ ।

पसिना बगाउनेहरूको गीत गाइन्छ कि गाइँदैन ? श्रमको मोल हुन्छ कि हुँदैन ? जनताका अधिकारमाथि खेलवाड भइरहेछ । सत्ताधारीहरूले उल्टो शासन गरेका छन् । झण्डा, चोर शिकारी बनेका छन् । माझीहरूको मूल्य खै ? सपना खै ? जनता राष्ट्र हुन् कि होइनन् ? भूगोल र क्षेत्रफल मात्र राष्ट्रियता हो भने किन सिमाना मिचिन्छ ? यो जोगाउने जिम्मा कसको ? एउटा नागरिक मात्र दुख्ने कि ? यति गम्भीर छन् कवितामा राष्ट्रियताका भाव । जनताका गीत, श्रमिकका गीत, माझीका गीत, मालीका गीत ढेण्डुरामका सिर्जना, रत्नदासका गीत किन बन्न सक्दैन राष्ट्रियता ? यसरी अनगिन्ती प्रश्नका जवाफ् खोजिएको छ ‘राष्ट्रवाद’ कवितामा ।

‘सुगौली तान’ १८१६ मार्च ४ तारिक …. शिलालेखहरू पृ. ५३

सुगौली सन्धीअधि कसरी नेपाल टुक्रिन पुग्यो ? भन्दै यस कवितामा सुन्दर र विशाल नेपालको सिमाना, दशगजाको स्मरण गरिएको छ । ‘मोफसल’ कविता मोफसलको अभाव, तनाव, व्यतिथि विसङ्गतिप्रति लक्षित छ । यस कवितामा सिङ्गो देश प्रतिबिम्बित भएको छ । राजधानी बस्नेलाई मोफसलको पीडा थाहा नभएजस्तै सरकारको नेतृत्वको टोपी लगाएकाहरूलाई जनताको पिर थाहा हुँदैन भन्ने भाव मुख्य रहेको छ ।

बरखी बारिएको शिरबाट
खुत्रुक्कै झ¥यो बुकिफूल जमिनमा
र खबरै नगरी
अकस्मात् बगेर गयो
एउटा देश पनि आमाको मनबाट– सुटुक्कै ! पृ.१६९

’एसल्ट नायक’ कविता जनयुद्धमा प्राणको बलिदानी गरेका वीर सपुतमा केन्द्रित छ । जनयुद्धमा प्रहरी प्रशासनको दमनले लडाकुहरूको सपना खोसिएको छ । जनयुद्धमा दिलो ज्यानले समर्पित नायकहरूमा गरिएको आततायी कार्वाहीले जनयुद्धको शिर छेदन गरेको, दुष्मन क्लियर भए भनिरहँदा सहरमा बस्ने पनि असुरक्षित भएको भाव व्यक्त भएको छ ।

जनयुद्धमा प्रहरी प्रशासनको दमनबाट घर मरभूमि बनेको छ । गाउँमा काखको छोराको मृत्यु भएपछि श्रीमतीलाई सहर बोलाएको खड्कध्वजले श्रीमती भेट्न पाउँदैन । सिङ्गो देश जनयुद्धमय भएको बेला हत्केलामा मृत्यु बोकेर हिडिरहेछन् जनयुद्धका वीरहरू । सहरमा वार्ता र १२ बुँदे सम्झौताको नजिक पुगेको बेला घरघरै कमरेडहरू गोलीको शिकार हुनुपरेको निकै भयावह स्थितिको भाव कवितामा छ ।

’चुनौती उद्घोष्’ कवितामा जनताको सार्वभौम अधिकारका लागि निरंकुश शासनका विरुद्ध लडिरहेका लडाकुहरूप्रति सरकारको दमनकारी नीति कायरताको पराकाष्ठ भनिएको छ । कानुन बधशालामा काटिएकोले न्यायको ढोका बन्द छ । प्रजातन्त्र गाउने गीत मात्र भएको छ । यसलाई कवि यसरी सङ्केत गर्छन् ।

ए जल्लादहरू हो !
घाँटी निमोठेर
रोक यो धर्तीको आवाज
र जति सक्छौ, गाऊ प्रजातन्त्रको गीत ! पृ. १८३

‘जीवनको कच्ची बाटो’ श्रमिकको संघर्षको गीत गुञ्जिएको कविता हो । सबैका ढोकामा खबर लैजाने हलकारा आफू बेखबर छ । सिङ्गो पृथ्वी बोकेर हिड्ने भरिया जमिनको मालिक हुन सकेन । आफ्ना रहरहरूलाई थाती राख्दै अरुका रहरका लागि डुङ्गा तारिहरने माझीका सपना कहिले होलान् साकार ? वर्गीय व्यवस्थाको अन्त्य खोजेका छन् कविले । जति हिँडे पनि जीवनमा सुखको गोरेटो नभेटिनु पक्कै पनि अनिष्ट हो ।

उसले पनि रहर गर्यो
र टिप्न खोज्यो आकाशको जून !
जीवनभर सलेदो बाटेर
टुकी सल्काए पनि
खै कसले निभाइरहेछ–धर्तीको उज्यालो ?
र सर्पझैँ फणा फिँजाउँदै
मडारिरहेछ एउटा निस्लोट अँध्यारो । पृ. १४४

यस्तै ‘क्रान्तिवीर’ शीर्षकको कवितामा विद्रोहका गीत गाउँने निष्ठाको सागर बोकेको एउटा क्रान्तिकारी योद्धाको गायन गरिएको छ । चेतनाको पुञ्ज बोकेर हिड्ने क्रान्तिवीर समरको सगरमाथा चढ्न डराउँदैन । उसले भौतिक युद्ध नजिते पनि विचारको युद्धले उसलाई आकाशका चम्कने तारा बनाएको छ । विचारको युद्ध दिगो र चम्किलो हुन्छ ।

‘फूल’
थुङ्गा चुँडेर
शिरमा सिउरिऊन्
या कुनै ढुङ्गामा पछारून्
म त फूल हुँ
उसै गरी फुलिरहन्छु जीवनको डालीमा ! पृ. ८३

अति प्रतिकात्मक छ यो कविता । फूल सङ्घर्षको प्रतिक हो । जीवन हो । कसैले शिरमा चढाउन सक्छन् कसैले ढुङ्गामा चढाउलान् तर फूलको स्वभाव फुल्नु हो, फुलिरहन्छ । ‘म मदेस’ शीर्षकको कवितामा जनताप्रति शासक उदार हुन सक्नुपर्छ, राष्ट्रियताको मर्मज्ञ हुन नसक्ने शासक के शासक ? जनताप्रति अनुत्तरदायी शासक के शासक ? शासक बुख्याचा हैन चुपचाप चुपचाप सहने । जनताका अधिकार खोसेर पसिनाको महल बनाउने शासक निरङ्कुश हुन्, सत्ताको कालो अनुहारलाई युद्धशिविरबाट च्यालेन्ज गर्छ एउटा जनवर्गीय योद्धा । जसले सधैँ श्रमजीवीहरूको पसिनाको मूल्य खोज्दै हिड्यो । बलिदानीको आँसुको मूल्य खोजिरह्यो ।

आमा !
म कसरी भन्न सक्छु र
कुनै भीरको डिलमा बनेको छ
यो जिन्दगी बिसाउने– अन्तिम चौतारी ! पृ. १३०

‘युद्ध शिविरमा उभिएको मान्छे’ शीर्षक आफैँमा प्रतिकात्मक छ । विचारको युद्ध कहिल्यै समान हुँदैन । मान्छे जहिले विचारको युद्ध लड्न तयार भयो भने मात्र वर्ग व्यवस्थाको अन्त्य होला । नेपालको परिप्रेक्षमा अझै जनवर्गीय युद्ध आवश्यक छ । विचारको युद्ध निरन्तर हुन्छ ।

सिद्धान्त र व्यवहारको तालमेल मिल्न सकेमा मात्र हामीले भन्ने गरेका माक्र्ससिजम सफल हुन्छ । मानिसको चरित्र वर्गीय हुन्छ । राष्ट्रिय गोलार्धको रूपमा सीमित भूगोलमा सङ्घर्षको मैदान कहिल्यै टुङ्गिदैन । पहिलो कवितादेखि अन्तिम कवितासम्म पुग्दा कविले श्रमजीवी वर्गका निम्ति मसी खर्च गरेका छन् ।

कविता पढ्दै गर्दा औपन्यासिकताको झल्को लाग्ने १८४ पृष्ठ रहेको यस कविता सङ्ग्रहमा ४९ वटा कविता सङ्कलित छन् । फूल, सत्ताको अनुहार अति संक्षिप्त कविता हुन् । केहीलाई छोडेर भक्तमानको ऐना, जिउँदो आगो, गुलसानी, फैसलाको फरमान, देश रोएको आवाज, भगवान्, युद्धशिविरमा हिँडेको मान्छे लामा कविता हुन् भने अरु कविता मध्यम आकारका छन् ।

अन्त्यमा ‘युद्ध शिविरमा उभिएको मान्छे’ बाटै एक टुक्रा –

छोरीको चिहानमाथि
राखिदियो उसले अनित्म थुँगा फूल !
र टक्क अडिएर
निहालिरह्यो जिन्दगीका फुटेका तस्बिरहरू !
माटो उठाएर
संसार बदल्ने सङ्कल्प गरेपछि
आलेस्त्रो हडिेथ्यो
भोल्गा नदीको किनारै किनार–युद्धशिविरतर्फ ! पृ.१५५

लेखक: प्रथा
पुस्तकको नाम : ‘युद्ध शिविरमा हिडेको मान्छे’
विधा : कविता
प्रकाशक : काव्य शिविर
मूल्य : २००
पृ. : १८४