निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीको जोड

निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीको जोड


काठमाडौं । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा गर्दा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड–१९ संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुबै जोखिममा परेको व्यवसायीहरुको आरोप छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड रोकथामका लागि निषेधाज्ञा गरिए पनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको धारणा राखे ।

अर्थतन्त्रका लागि निषेधाज्ञा स्वीकार योग्य नहुने भएपनि मानिसको जीवन रक्षाका लागि मात्रै निषेधाज्ञा स्वीकार गरिएको उनले बताए । पछिल्लो समय रोग र भोक दुबैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै उपाध्यक्ष अग्रवालले जीवन रक्षाका लागि भएपनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्नेमा जोड दिए । उनले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी देशको सीमा नाकामा कडाई गर्नुपर्ने, अन्तर जिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाईकासाथ पालना गर्नुपर्नेमा जोड दिए । साथै, संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुको विकल्प नरहेको पनि अग्रवालले बताए । उनले संक्रमणको अवस्थालाई नियन्त्रण गर्ने र अर्थतन्त्रलाई सूचारु गर्ने विषयमा समानान्तर व्यवस्थापन गर्नुपर्ने बताए ।

त्यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरु मारमा परेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको आरोप छ । सरकारले लकडाउन बाहेक अल्पकालीन वा दिर्घकालीन विकल्प प्रस्तुत गर्न नसकेको समेत उनले बताए । लकडाउनलाई नै विकल्प बनाउँदा व्यवसायी र नागरिकहरु त्रसित बनेकाले लामो समय यस्तै अवस्था रहे जीवन रक्षाका लागि विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ । लकडाउनका कारण सिर्जित समस्या समाधानका लागि सरकारले अल्पकालीन र दिर्घकालीन विकल्प दिनुपर्नेमा उनको जोड छ । साथै, सरकारले निषेधाज्ञालाई खुकुलो बनाए सबै व्यवसायीहरु सचेत बनेर व्यवसाय सञ्चालन गर्ने कटुवालको भनाइ छ ।

त्यस्तैगरी नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताए । निषेधाज्ञालाई खुकुलो बनाए संक्रमण फैलने र खुकुलो नबनाए व्यवसायीहरु विस्थापित हुने भएकाले दुबै पक्षलाई समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्नु नै सबैभन्दा उत्तम विकल्प हुने बज्राचार्यको भनाइ छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अथवा निषेधाज्ञाको स्थिति लामो समय रहे देशको कूल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आउन सक्ने देखिन्छ । लामो समय लकडाउन गर्ने अधिकांश मुलुकहरुको अर्थतन्त्रमा ठूलो क्षति भएको छ । पछिल्लो तथ्याङ्क अनुसार भारतको कूल गार्हस्थ उत्पादनमा २४ प्रतिशत गिरावट आइसकेको छ । त्यस्तै अन्य मूलुकको आर्थिक वृद्धिदरमा पनि नकारात्मक असर परेको छ ।

कोभिड रोकथाममा राम्रो व्यवस्थापन गर्न सफल चीनमा भने आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा माथि देखिएको छ । भारतको कूूल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आएपछि नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्न सक्ने देखिन्छ । त्यसैले अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोभिड नियन्त्रणका लागि काम गर्नुपर्ने व्यवसायीहरुको सुझाव छ ।

Logo