कुमारी आमा

कुमारी आमा


निहारिका राजपुत एक कुमारी आमा हुन् । उनी १७ वर्षकी नाबालिका हुँदा उनलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेका थिए । यसपछि उनको कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ।

उनी भन्छिन्, “बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ पुगे पनि मलाई नै गलत देखाइयो। प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो । जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायालय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग होइन कि म मेरै घर परिवारबाट पनि तिरस्कृत हुनुपर्यो ।” 

उनी साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बसिरहेकी छिन् । न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रलोभन पनि दिएका थिए भन्दै गहभरि आँसु ल्याउँदै थिइन्। तर, उनी आफ्नो लडाइँमा अडिग थिइन् । जसका लागि राष्ट्रिय महिला आयोगको ढोका ढकढक्याउन पनि पुगिन् । तर, कुनै सहयोग पाइनन् । उल्टै उनलाई कमजोर बनाउने व्यवहार गरियाे। परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि उनले हिम्मत हारिन् । 

उनलाई विस्वास थियो, अन्तिममा न्यायालयबाट आफूले न्याय पाउनेछु भनेर तर, अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायालय अपराधीको पक्षमा उभियो। धनुषा जिल्ला अदालतले ०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । जिल्ला अदालतको फैसलामाथि उनले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिन् । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन। उनको मुद्दालाई अदालतले लिंगरिङ मात्रै गरिरहेको छ। 

उनको कुनै जागिर छैन । आफू र बच्चा बाँच्नु छ। अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ? भन्ने प्रश्नले उनलाई दिन दिनै कमजोर बनाउँछ। न्यायलायको फैसलाप्रति उनलाई फिटिक्कै विस्वास छैन । अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ। तर, यो लडाइँ एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो भन्ने भएपछि उनी आमरण अनसनमा बस्ने निर्णयमा पुगेकी हुन् । 

“मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विस्वास दिन्छौ भने म मर्न पनि तयार छु, ” भन्छिन् उनी। उनको आमरण अनसनको उद्देश्य उनले न्याय पाउनुपर्यो भन्ने हो । उनका मागहरु बूँदागत रुपमा पेश गरिएको छ ।

१. मेरो बच्चाको डिएनए (DNA) टेस्ट गरिनुपर्यो । काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्यो ।

२. उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो ।

३. मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ। प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्यो ।

४. घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ। यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्यो। हिजो मेरो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्यो । उनीहरुमाथि पनि छानबिन हुनुपर्यो ।

५. मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्यो ।

जबसम्म मेरा यी मागहरु पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन ।

Logo