चिसो मान्छेः चलचित्र सुपरहिट हुनेमा ढुक्क छन्ः दीपेन्द्र

चिसो मान्छेः चलचित्र सुपरहिट हुनेमा ढुक्क छन्ः दीपेन्द्र


मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो ।

मान्छेको सुख, दु:ख रोदन हासोमा गहिराइ धेरैथोरै हुनसक्ला तर अन्तर्य समान हुन्छ, सबैले बुझ्छन् । पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिनेयात्रा दौडाइरहेका छन् । ‘पशुपतिप्रसाद’बाट प्राप्त उर्जाले ’आमा’ बनाए, ’आमा’को उर्जाले ’चिसो मान्छे’बाट थप उर्जा ल्याउने तरखर गर्दैछन् । सिनेमा असार ३ गते शुक्रवारबाट प्रदर्शनमा आयो । आफ्ना अघिल्ला सिनेमाहरू झैँ ‘चिसो मान्छे’ले पनि न्यानो माया पाउनेमा उनी ढुक्क जस्तै छन् । सिनेमाका बारेमा गरिएको साक्षात्कारको समयमा उनीमा त्यो विश्वस्तता स्पष्ट झल्किन्थ्यो । यही विषयमा गरिएको कुराकानीको संपादित अंश: 

अघिल्लोपटक एउटी आमाको कथा थियो यसपटकको कथा कसको हो ?

आमा’मा एउटी आमाको भन्दापनि एउटा नारीको कथा थियो अझ भन्नुपर्दा तीन वटा नारीको कथा थियो । यसपाली पनि नारीकै कथा छ । समग्रमा नारीकै वरीपरी कथा घुम्छ ।

यसले कस्तो नारीको कथा भन्छ ?

यो एउटा बिद्रोह जस्तो छ चलचित्रमा । एउटा नारी पात्रले समाजसँग उसको अफ्ठ्याराहरुको बिद्रोह । त्यो छनक ट्रेलरमा पनि देखिएको छ । गाडी पछाडि श्रीमानको शव छ, गाडि बसेकी ऊ एउटा छुट्टै जोनमा छ । त्यसले गर्दा चलचित्रमा एउटा नारी बिद्रोह जसरी धेरै कुरा छ । 

यो पनि भन्नुपर्ने देखाउनुपर्ने कथा हो भन्ने आत्मविश्वास तपाईंलाई यसको के कुराले दियो ?

यो नै बनाउँछु अथवा यो नै गर्छु भनेर म गर्दिन । मलाई मनमा लाग्नुपर्छ, मनमा छुनपर्छ आफैँलाई । विशेषगरी जन्म, मृत्यु, सम्बन्धका कथाहरूले मलाई धेरै छुन्छन् । त्यसले गर्दा प्राय: मलाई छुन पर्‍यो । 

तपाईलाई यो सिनेमा बनाइरहँदा लागेको गाह्रो कुरा के थियो ?

भाषाकै कुरा गाह्रो थियो । त्यो एउटा प्लानअनुसार हामीले जसरी गर्‍यौँ सहज भयो । अर्को यो ट्राभल फिल्म थियो, ट्राभल फिल्म भएपछि यहाँदेखि  बाजुरासम्म गाडीमा खिच्नपर्ने, बाटोमा आउने अफ्ठ्यारोहरु, एकदमै अफ्ठ्यारो थियो । पहिलो कोभिडको लकडाउन सकिनेबित्तिकै खुलेको सेटिङमा चलचित्रको कथा घुमेको छ । त्यो बेला त्यो समय आफैँमा डरलाग्दो थियो । सिनेमा खिच्नलाई यहाँ ९काठमाडौं० देखि बाजुरासम्म निस्किन्छु भन्दा परिवेश त्यतिखेर डरलाग्दो थियो । तर अब चलचित्रको कथा पनि सेटिङ पनि मैले ठ्याक्कै त्यही बेलाको बनाएको हुनाले त्यो डरलाग्दो भएपनि चलचित्रमा त्यो बेलाको सेटिङ राख्न पाएँ ।

पात्रहरूका लागि कलाकार छान्न सजिलो भयो कि गाह्रो ?

पात्र त कस्तो हुन्छ भने म आफैँ लेख्ने भएका भएर लेख्दालेख्दै दिमागमा लगभग हाम्रो इण्डस्ट्रिमा भइरहेको कलाकारको इमेज आउन थालिहाल्छ । त्यसले गर्दा पात्र छनोटमा अफ्ठ्यारो भएन । 

सिनेमा बनिसकेको छ, निर्देशकका रूपमा सिनेमाप्रति तपाईंको आत्मविश्वास कति छ ?

कन्फिडेन्स त छ, ट्रेलरले पनि देखाएको छ । सबैजना दर्शकले एकदमै मन पराउनु भयो । र ट्रेलर भन्दा सिनेमा एकदमै भिन्न छ, धेरै कुरा छ फिल्ममा । त्यसले गर्दा म आशावादी छु एकदम । दर्शकहरूले पक्कैपनि एक लेभलको मन पराउनुहुन्छ । र जैले पनि म आफूले निर्देशकको हिसावले काम गर्दा निर्देशकको ग्रोथ हुनपर्छ भन्ने विश्वास राख्छु र त्यो ग्रोथ ’चिसो मान्छे’सम्म आइपुग्दा अझै बढेको छ भन्ने लाग्छ ।

अहिलेसम्म तपाईंले बनाइसकेका सिनेमाहरूमा यो सिनेमा कहाँ छ ?
सबैको आफ्नो-आफ्नो विशेषता छन् । त्यसैले कहाँ पर्छन् भन्दा पनि, मैले अघि नै भने निर्देशकको ग्रोथ कत्तिको भएको छ भन्ने सिनेमामा देख्न पाइन्छ, त्यही हो ।

कति ग्रोथ भएको छ ?
त्यो त दर्शकले, समिक्षकले भन्नुहुन्छ होला । तर मैले आफूले सकेको जत्ति ग्रोथ गर्ने प्रयास गरेको छु । 

स्वमूल्यांकन त होला नि, एउटा विद्यार्थीले परीक्षा दिइसकेपछि यति आउला भनेर अनुमान गरेजस्तै ?

त्यही त मैले भने नि, यो भन्दा अगाडिको चलचित्रभन्दा ग्रोथ छ मेरो ।प्रश्न: कलाकारहरूलाई आफ्नो पात्रमा छिर्न कत्तिको गार्हो भयो,

उहाँहरू तपाईको दृश्य भाषामा कतिको खरो उत्रिनुभयो ?

मैले जस्तो सोचेको थिएँ, पात्रहरू यस्तो हुनुपर्छ, यस्तो बोल्ला, यस्तो गर्ला भन्ने । जोजोलाई छनौट गरेँ, पूर्णरूपमा सोचेको जस्तै भएको छ । अब सयमा सय त केही कुरा हामीले गर्न सक्दैनौं, कति कुराहरू तर सिनेमाको कति  प्रतिशत आयो भन्दा एउटा मजाको लेभल आएको छ ।

तपाईंले आफ्ना कलाकारहरूलाई उनीहरूको भुमिकाका बारेमा सुनाइरहँदा प्रतिक्रिया के-कस्तो थियो ?

सबैजना एकदमै एक्साइटेड हुनुभएको थियो । जस्तै स्वतिमालाई उताको भाषामा चलचित्र गनर्ने खुब रहर रहेछ । अनि मैले अफर गर्दा ऊ एकदमै एक्साइटेड थियो । उसले त्यो एक्साइटमेन्ट अनुसारकै सिनेमालाई दिनुपर्ने इनपुट दिएको छ । त्यो ट्रेलरमा देखिएको छ । अर्पणकै कुरा गर्दा उनले गम्भीर भुमिकाहरू गरिरहेको थिएन । उसलाई ’आमा’मा दृश्यात्मक रूपमा नदेखिने तर आवाजमा मात्र सुनिने छोरा पात्रमा राखेको थिएँ । त्यो फोनको संवादलाई नै दर्शकहरूले अति नै मनपराउनु भएको थियो ।

‘चिसो मान्छे’मा तपाईंले प्रश्तुत गर्नुभएको कथासँग दर्शकहरू कति सहमत हुनुहोला जस्तो लाग्छ ?

कन्भिन्स हुनुहुन्छ । मैले भने नि जन्मको मृत्युको अथवा सम्बन्धको कुराहरू सबैसँग रिलेटेबल हुन्छ जस्तो लाग्छ । त्यसले गर्दा मैले जे कुरा भन्न खोजेको छु, त्यसमा कन्भिन्स हुनुहुन्छ भन्ने लागेको छ ।
 

Logo