पर्वतमा जीप दुर्घटना : दुई जनाको मृत्यु , चार घाइते
File Photo

पर्वत,

पर्वत जिल्लाको महाशिला गाउँपालिका ५ देउरालीमा आज साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ नंबरको जीप लुंखुबजार भन्दा केही तल दुर्घटना भएको हो । मृत्यु हुनेमा महाशिला गाउँपालिका वडा नं ३ बस्ने ५० बर्षिय कृष्णगोपाल गुरुङ र एक महिला रहेका छन् । मृतक गुरुङ्ग स्थानिय बालारानी माबिका शिक्षक हुन् भने महिला सोही विद्यालयमा भवन निर्माणमा कार्यरत मजदुर रहेकी भनिएपनि उनको सनाखत हुन सकेको छैन ।

घाइते भएका जीप चालक ३५ बर्षिय प्रविण गुरुङ र ३३ बर्षिया लक्ष्मी गुरुङलाई उपचारका लागि पोखरा पठाइएको छ भने बालाकोटका वर्ष ३५ का दिपक गुरुङ र २८ बर्षिय खुमबहादुर गुरुङ्गको प्राथमिक स्वास्थ्य केन्द्र देउरालीमा उपचार हुदै गरेको बताइएको छ । सडक चिप्लो भएका कारण जीप सडकदेखि करिव १०० मिटर तल खसेको थियो ।