पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग

पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग


जग्गा विवाद झिकेर निर्माणधिन बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पर्ने सखरा हाउजिङ कम्पनी प्रालि बसुन्धरा काठमाडौंलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । 

सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीको लापरवाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् । आक्रोशित स्थानीयको अलपत्र पुलको निर्माण रोक्ने सखरा हाउजिङ कम्पनीलाई वडा कार्यालयहरूबाट आवश्यक हुने कागजात रोक्का गर्न जनप्रतिनिधिहरूसँग माग गरेको थियो ।

सो वडाका वडा अध्यक्षले समेत स्थानीयको मागलाई तत्काल सम्बोधन गर्दै उक्त कम्पनीले समस्या समाधन नगरेसम्म कम्पनीसँग सम्बन्धित कुनै काम वा सिफारिस नगर्ने बताएका छन् । जग्गा कारोबारीको नाममा खोलामा परेको जिल्ला किन्ने, मास्ने र जनताको हितको काममा अवरोध सृजना गर्ने सखरा हाउजिङ कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित वडा अध्यक्षहरूले बताएका छन् ।

पुल निर्माणको काम रोकिँदा दैनिक हजारौं सर्वसाधारण जनताले दुःख पाएको भन्दै स्थानीयहरूले कम्पनीविरुद्ध संर्घषमा उत्रिने घोषणा गरेको छन् । वर्षायामसँगै बाढी र डुवानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले आवागमनलाई सहज पार्न सम्बन्धित पक्षलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको स्थानीयको भनाइ छ । 

स्थानीयले पुल निर्माणको लागि दवाव दिने उद्देश्यले वडा नम्बर १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति गठन गरेको छ ।गत चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भइरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाको विरुद्ध २७ माघ २०७७ सखरा हाउजिङ कम्पनी प्रा‍लि बसुन्धरा काठमाडौंले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

कम्पनीले साविक डुमरवाना गाविस- ४ को कित्ता नम्बर ४३४ को १ बिघा र कित्ता नम्बर ४३५ को ३ कठ्ठा जमिन मध्ये १ बिगाह १ कठ्ठा जमिनमा पुल बनेको दावी गरेको छ । कम्पनीको तर्फबाट कलैया उपमहानगरपालिका- २४ सखुईका रामेश्वरप्रसाद यादवले मुद्दा दर्ता गराउएका थिए । उनले प्रतिकठ्ठा ११ लाख क्षतिपूर्ती माग दावी गरेको बताइएको छ । सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले पुल निर्माण कार्यमा रोक लगाउँदा पुल अलपत्र परेको स्थानीय हरिचन्द्रप्रसाद यादवले बताए ।

विचाराधीन अवस्थामा रहेको मुद्दा चाँडो किनारा लगाई सर्वसाधारणले पाएको सास्ती अन्त्यका लागि आवश्यक पहल गरिदिन जनप्रतिधिहरूलाई आग्रह गरेका छन् । पुल निर्माण कार्य चाँडै सम्पन्न गर्नुपर्ने स्थानियहरुले बताएका छन् । करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भूमाफियाहरूको चलखेलले गर्दा उपमहानगरवासीले आफ्नै पालिकाको केन्द्रसम्म पुग्न लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्नुपर्ने अवस्था रहेको वडा नम्बर १८ का जगदिप कोइरालाले बताए । 

काठमाडाैँमा बसेर यहाँका खोलाको जमिन सस्तोमा किनेर जनतालाई नै दुःख दिने हाउजिङको कारोबार शंकास्पद रहेको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । ठूला जग्गा कारोबारीहरूले सरकारका प्रतिनधिहरूसँगको सेटिङमा खोलामा परेको जग्गा सस्तोमा किनेर मोटो रकम क्षतिपूर्ति लिने गरेको उनीहरूले आरोप लगाए । 
 

Logo