नेपालको प्राचीन सभ्यतासंग जोडिएको योगलाई विश्वले अंगाल्नु खुसीको कुरा : राष्ट्रपति भण्डारी

नेपालको प्राचीन सभ्यतासंग जोडिएको योगलाई विश्वले अंगाल्नु खुसीको कुरा : राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपमा जोडिएको योगलाई विश्वले अंगाल्नु हामी सबैका लागि ठूलो खुशीको कुरा भएको बताएकी छन् । 

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सुभकामना सन्देशमा, ‘नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपमा जोडिएको योगलाई विश्वले अंगाल्नु हामी सबैका लागि ठूलो खुशीको कुरा हो । योग भनेको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई बलियो बनाउने अभ्यास हो । त्यसैले योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभई ध्यान गर्ने कार्यको रूपमा पनि लिइन्छ' भनिएको छ ।

राष्ट्रपति भण्डारीले निश्चित अनुशासनले गर्ने योगले शरीरलाई बलियो बनाउने, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र व्यक्तिलाई सकारात्मक सोचमा उत्प्रेरित गर्ने विश्वास लिएको बताएकी छन् । योगको विकासमा नेपाली सभ्यताको योगदान हाम्रा विद्वान र योग गुरुहरूले व्यापक रूपमा प्रबोधन गरेको राष्ट्रपति भण्डारीले भनेकी छन् ।

भण्डारीले हाम्रो सामाजिक र सांस्कृतिक जीवनशैलीसँग सम्बन्धित वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति रहेको भन्दै योगलाई शिक्षाको एक अंगका रूपमा विकास गरी त्यसको अध्ययन र अनुसन्धानलाई सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएकी छन् । 

आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालिएको हो । यस वर्ष योग दिवस ‘मानवताका लागि योग’ भन्ने नाराका साथ मनाइँदैछ ।
 

Logo