चुनाव र कागज अभाव भएका कारण समयमै विद्यालयमा पुस्तक पुर्‍याउन सकेनौं : शिक्षामन्त्री देवेन्द्र पौडेल

चुनाव र कागज अभाव भएका कारण समयमै विद्यालयमा पुस्तक पुर्‍याउन सकेनौं : शिक्षामन्त्री देवेन्द्र पौडेल


 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पुर्‍याउन नसकिएको बताएका छन् ।   

आज मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताए । उनले बजारमा झन्डै १५ दिन कागज अभाव, पाकिल चुनावमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा चुनावका लागि मतपत्र छपाइ भएकाले पुस्तक छाप्न ढिला भएको जिकिर गरे ।  

उनले भने, ‘पुस्तक वितरण ढिलो हुनुमा १५ दिन कागज नआएको कुरा साँचो हो । भारतीय बजारमा कागज अभाव हुँदा यता समस्या भयो । त्यही समयमा पालिका चुनावमा जनक शिक्षा सामग्रीका कर्मचारी खटाइयो । त्यही समयमा मतपत्र छापियो । यही कारण पुस्तक छपाइमा ढिला भएको हो ।’

मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायी र सरकारी तथ्याङ्कसमेत हेरेर पुस्तक वितरण गरिरहेको बताए । उनले विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न पाँच हजार नयाँ दरबन्दी थप्ने तयारी भए पनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताए ।  शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दीको काम तीव्र रूपमा भइरहेको उनको भनाइ छ ।  

Logo