इलामका ५२ चिया उद्योग बन्द, एशोसिएसनको ध्यानाकर्षण
Photo: teacoffee.gov.np

इलाम । इलामका ५२ चिया उद्योग बन्द भएका छन् । हरियो चिया पत्तिको मूल्यलाई लिएर इलामको सूर्योदय नगरपालिका र स्थानीय चिया प्रशोधन गर्ने चिया कारखाना संचालकहरुको छाता संगठन सूर्याेदय टि एशोसिएसनबीच विवाद हुँदा ति उद्योग बन्द भएका हुन् ।

उक्त विवाद र चिया उद्योग नै बन्द भएको प्रति नेपाल टि एशोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ । केहि महिना पहिले मजदुर आन्दोलनले आक्रान्त चिया क्षेत्रमा भएको पटकपटकको आन्दोलनले राम्रो सन्देश नदिएको एशोसिएसनको ठहर छ ।

नेपालका १८ जिल्लामा चिया उत्पादन भइरहेकोमा एकलौटि रुपमा चियाको मूल्य निधारण गर्ने काम वाञ्छनीय नभएको उनको दाबी छ । एशोसिएसनले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘देशको कृषिमा आत्मार्निभर भई विदेश निर्यात भइरहेको नेपाली चियालाई सबै सरोकारवालाले विवेकपूर्ण ढंगले बुझ्नु जरुरी छ ।’

यस्ता खाले आन्दोलनले अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश पुगेको जनाएको छ । तत्काल कारखाना सञ्चाल गर्ने वातावरण बनाउन सम्वन्धित सूर्याेदय नगरपालिका, सूर्याेदय टि एशोसिएसन, स्थानीय वुद्घिजिवी, राजनीतिक दल तथा अन्य सरोकारवाला सबैमा नेपाल टि एशोसिएसन माग गरेको छ ।