दाङ र रुपन्देहीमा चट्याङ लागेर ६ जनाको मृत्यु

वुटवल,

दाङमा चट्याङ लाग्दा तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाट निवासी ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका विनासका भाइ ८ वर्षीय अविनास गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यसैगरि रुपन्देही जिल्लामा खेतमा काम गरिरहेका बेलामा चट्याङ लागेर गैडहवा ७ का २५ वर्षिय भगवान दास लोध, कञ्चन गाउँपालिका २ का ६० वर्षिय नन्दराम अर्याल र सैनामैना नगरपालिका ७ का ६२ वर्षिय नन्दबहदुर विकको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।
नयाँ पत्रिकाबाट