न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग


नेपाल बार एसोसिएसनले न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको छ ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र-निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख लक्ष्य रहेको जनाउँदै यस्ता अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्ष भएको जनाइएको छ । ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो।

न्यूज २४ टेलिभिजनले  मंगलबार अडियो सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो । अडियोमा १० करोड धरौटीमा तामाङलाई धरौटीमा छाड्ने र त्यसबापत दुई लाख लिने प्रस्ताव अधिवक्ता पोखरेलले गरेको सुन्न सकिन्छ। 

Avatar

 

Logo