बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लाग्यो : शेखर गोल्छा

बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लाग्यो : शेखर गोल्छा


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाली उत्पादित वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा लैजाने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बिहीवार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि भर्चुअल अनलाइन शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग मन्त्री बडूले यस्तो बताएका हुन् । राष्ट्रिय उत्पादनलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने अभियानमा साना तथा मझौला उद्योगको महत्वपूर्ण भुमिका रहने विश्वास बडूको छ ।

मन्त्री बडूले निजी क्षेत्रका उत्पादित वस्तु बजारीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । सरकारले ठूला र घरेलु तथा मझौला उद्योगलाई वस्तु तथा सेवाको खरिद र बजारीकरणमा जोड्न चाहेको बताउँदै उनले ठूला उद्योग र साना उद्योगबीचको सहकार्यले उत्पादन क्षमता र बजारीकरणको पहुँचमा वृद्धि हुने विश्वास रहेको उल्लेख गरे । मन्त्री बडूले ठूला र साना तथा मझौला उद्योगको समस्याहरु आर्थिक तथा मौद्रिक नीतिमार्फत समाधानका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

 

उनले भने, ‘साना तथा घरेलु उद्योग र मझौला उद्योगहरुको क्षेत्र नेपाली उत्पादकत्व बढाउने अझ बढी आधार हुन् । नेपाली उत्पादन बढाउने आधारशिला हो । नेपाली उत्पादनको क्षेत्र यहीबाट शुरु हुन्छ । नेपालको अर्थतन्त्रलाई आधारसहित बलियो बनाउनको निमित्त धेरै ठूलो भूमिका यो क्षेत्रको छ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक अहिले ठूलो आर्थिक संकटमा गुज्रिरहेको बताउँदै लामो समयदेखि बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लागेको बताए । अध्यक्ष गोल्छाले अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार धरायासी बनेको बताउँदै ५० लाख शेयर लगानीकर्ता ठूलो संकटको घडीमा पुगेको दाबी गरे । वाह्य कारणले बजारमा १८ प्रतिशत बढी मूल्यवृद्धि भएको र आगामी दिन अझ बढ्दै जाने अवस्था रहेको उनको भनाइ छ ।

अध्यक्ष गोल्छाले विदेशबाट आयात गरेर मात्रै अर्थतन्त्र चलाएकाले तरलता अभाव भएर एक वर्षमा सतप्रतिशतले बैंकको ब्याज बढेको गुनासो गरे । अब पनि सरकार पक्षबाट केही नगर्ने हो भने अझ बढी गम्भीर स्थितिमा पुग्ने बताउँदै अध्यक्ष गोल्छाले खोजौं नेपाली, रोजौं नेपालीको नारा सान्दर्भिक भएता पनि राष्ट्रियताको आधारमा मात्रै उद्योग व्यवसाय गर्न नसकिने बताए । उनले सरकारले साना र मझौला उद्योगका समस्या समाधान नगरेसम्म यो नारा नारामा नै सीमित रहने जिकिर गदै साना र मझौला व्यवसायीहरुको लागि बैंकबाट कर्जा लिन बैंकहरुले ठूलो धितो माग गर्ने भएकाले नयाँ उद्यमीहरुको विकास हुन नसकेको दाबी गरे । 
उनले भने, ‘सरकारले जबसम्म साना र मझौला उद्योगका समस्या समाधान गर्न सक्दैन तबसम्म यो नारा नारामा मात्रै सीमित रहन्छ । साना र मझौला उद्योगीहरु अर्थतन्त्रका मेरुदण्ड हुन् । हामी साच्चि नै समृद्धिको सपना देख्न चाहन्छौं भने साना र मझौला उद्योगलाई सुदृढ बनाउनै पर्छ । साना र मझौला व्यवसायीहरुको लागि बैंकबाट कर्जा लिन समस्या रहेको छ । बैंकहरुले कर्जा दिनको लागि ठूलो धितो माग गर्ने गरेका छन् । त्यसले गर्दा नयाँ उद्यमीहरुको विकास हुन सकेको छैन ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको डबल डिजिटमा आर्थिक वृद्धि गर्ने लक्ष्य बैंकको ब्याजदर सिङ्गल डिजिटमा नभएसम्म सम्भव नभएको बताए । अहिले सरकारले आर्थिक वृद्धिदर डबल डिजिटमा गर्ने भनिए पनि बैंकको ब्याजदर पनि डबल डिजिटमा रहेको बताउँदै अध्यक्ष मल्लले नेपाली उत्पादकत्व बढाउनको लागि उद्योगहरुलाई सरकारले नै असहयोग गरिरहेको आरोप लगाए । 

उनले भने, ‘नेपालको उत्पादन बढाउनको लागि सरकारबाट उद्योगहरुलाई सहयोग नभएको अवस्था छ । अहिले अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकको समन्वय मिलेको अवस्था छैन । समन्वय गरेर उद्योगीहरुलाई बैंकको ब्याजमा परेको मर्कालाई कल्हम लगाउन ब्याजदर कम गर्नुपर्छ । सरकारको लक्ष्य डबल डिजिटमा आर्थिक वृद्धि गर्नेछ तर जबसम्म बैंकको ब्याजदर डबल डिजिट हुन्छ । आर्थिक वृद्धिदरको डबल वृद्धिदर हुन सक्दैन । डबल डिजिटको आर्थिक वृद्धिको लागि सिङ्गल डिजिटमा ब्याजदरमा झार्नु पर्छ ।’
 
 

Logo