हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान

हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान


बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । 

आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेको हो ।

कारागार चलान गरिएका १२ जनाको बारेमा प्रहरीले शुक्रबारमात्रै विवरण सार्वजनिक गरेको हो । हत्या आरोपमा कारागार चलान हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सन्दिप थापा, जीतपुरसिमरा वडा नम्बर २ फुलवारी टोलमा बस्ने वर्ष ४२ का  केवी रिजाल भन्ने  खगेन्द्र रिजाल, सोही पालिका वडा नम्बर २ सम्झौता टोलमा बस्ने वर्ष ३५ का उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा टोलमा वस्ने वर्ष ४८ का अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष ५० का चित्रबहादुर क्षेत्री, सोही ठाउँ बस्ने २४ वर्षका  सुजन भन्ने सुमन लामा  छन् ।

यसैगरी वडा नम्बर ६ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ का राजु अधिकारी, वडा नम्बर ३ शिव मन्दिर टोल बस्ने वर्ष ३४ का मसिने मगर भन्ने कुमार मगर, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सुदिप घिमिरे, वडा नम्बर ३ रामवन टाँडी टोलका वर्ष २६ का सन्तोष खत्री, वडा नम्बर ६ नगौल टोलका वर्ष ५० की दुर्गादेवी खत्री र सोही ठाउँमा बस्ने वर्ष ५० का संते बछार भएको प्रहरीले जनाएको छ । 

३० वैशाख अर्थात स्थानीय निर्वाचनका दिन बिहान ३ : ३० बजे स्थानीय चित्रबहादुर क्षेत्रीको घरमा पौडेलको हत्या गरेको भन्दै मृतकका पिता चिरञ्जीवी भक्त पौडेलले उनीहरुविरुद्ध जाहेरी दिएका थिए । क्षेत्री समेतले घरमा बोलाएर छोराको हत्या गर्ने मनसायले कुटपिट गरेको र उनको मृत्यु भएको आरोप लगाएका थिए । पक्राउ परेका क्षेत्रीको घरमा राति अवेरसम्म बसेका पौडेललाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाने क्रममा सोही दिन मृत्यु भएको थियो । 

उनको मृत्यु स्वभाविक नभएको भन्दै मृतकका आफन्तले प्रहरीमा क्षेत्रीसहितका १२ जना विरुद्ध जाहेरी दिएको थियो । घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै पौडेल पक्षले सडक जाम गरेर जीतपुर बजारमा आन्दोलन समेत गर्दै आएको थियो ।
 

Logo