कञ्चनपुर सिँचाइ डिभिजन प्रमुख दुई लाख घूससहित पक्राउ

कञ्चनपुर । कञ्चनपुर सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख दुई लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले प्रमुख अजित कुमार श्रीवास्तवलाई नगद दुई लाख घूस रकमसहित पक्राउ गरेको हो । श्रीवास्तवलाई कार्यालयबाटै पक्राउ गरिएको हो ।

श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । उनले कमिसनबापत लिएको दुई लाख घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा श्रीवास्तवलाई पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

श्रीवास्तव पक्राउ परेपछि सत्तारुढ दल नेकपा नेता कार्यकर्ताहरुले सरकारलाई असफल बनाउन खोज्ने फन्दामा परेको जनाएका छन् । उनीहरुले भ्रष्टाचार, घुसखोरी गर्दै सरकारलाई असफल गराउने तत्व बढ्दै गएको दाबी गरेका छन् ।