नेपाली क्रिकेट टोलीको बिदाइ

नेपाली क्रिकेट टोलीको बिदाइ


क्यानडासँगको दुई एकदिवसीय खेल र आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई आज सोमवार बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ क्यान ले सोमवार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय क्रिकेट टोलीको बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाइ गरे । 

नेपाली टोलीले आउँदो असार २९ गतेदेखि स्कटल्यान्डमा हुने विश्व कप लिग–२ र त्यो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँग अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेल खेल्ने तालिका छ ।

नेपालले स्कटल्यान्डमा लिग–२ अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपालले त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ । स्कटल्यान्डमा हुने शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डसँग जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

नेपाल लिग–२ तालिकाको पाँचौँ स्थानमा छ । नेपालले १६ खेलबाट सात जित, आठ हार र एक टाइ सहित १५ अङ्क जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलबाट २८ अंक जोड्दा छैटौँ स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ । आईसीसी विश्व कप क्रिकेट लिग २ मा अब नेपालले २० खेल खेल्न बाँकी छ । 

स्कटल्यान्डमा तीन खेल जित्ने नेपालको लक्ष्य
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड भ्रमणमा कम्तिमा तीन खेल जितेर फर्किने लक्ष्य रहेको बताएका छन् । नेपालले स्कटल्यान्डमा ११ जुलाईबाट नामबियासम्मिलित त्रिदेशीय शृंखला खेल्ने छ । जहाँ स्कटल्यान्ड र नामिबियासँग दुई दुई खेल खेल्ने छ । 

सन्दीपले भने, 'हामी कम्तीमा तीन खेल जित्ने लक्ष्य लिएर स्कटल्यान्ड जादैछौँ । चार खेलमा चारै खेल जित्न सक्यौँ भने त्यो सुनमा सुगन्ध हुने छ ।'

सन्दीपले अमेरिकाबाट फर्किएपछि नेपालमा तयारी गर्न नपाएको बताए । नेपालले अमेरिकामा ओमानसम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो ।

Logo