कोपा अमेरिका: अर्जेन्टिना र चिली सेमिफाइनलमा प्रवेश

ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबल अन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले हराएको छ। जितसंगै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाले १०औं मिनेटमा नै खाता खोलेको थियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ७४औं मिनेटमा जिओभानी लोकेल्सोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । अर्जेन्टिनाका स्टार खेलाडी लियाेनल मेस्सी पूरै ९० मिनेट नै मैदानमा रहे पनि गाेल गर्न सकेनन् । मध्यभागमा उत्कृष्ट प्रदर्शन गरेको भेनेजुएलाले गोल गर्न सकेन । अर्जेन्टिनाले अब ब्राजिलसँगको प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी शनिबार बिहान भएको अर्को खेलमा साविक विजेता चिलीले कोलम्बियामाथि जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिईएको थियो । पेनाल्टीमा चिलीले बाजी मार्यो । निर्धारित समयमा चिलीका अर्तुरो भिडालले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

सेमिफाइनलमा चिलीले उरुग्वे र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।